काठमाडौं , अपहरणको धम्की दिँदै नाटकीय ढंगले व्यापारीहरुसँग मोटो रकम माग गर्ने एक युवक पक्राउ परेका छन् । फोनमार्फत धम्की दिई व्यवसायीहरुसँग रकम बार्गेनिङ गर्ने ललितपुरका उदय गिरीलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।
ललितपुर महानगरपालिका–२४ धापाखेल बस्दै आएका ३० वर्षीय गिरीले नेपाली तथा भारतीय नम्बरको सिमकार्ड प्रयोग गरी फोनबाट धम्क्याउदै तीनजना घरजग्गा व्यवसायीसँग ७५ लाख रकम माग गरेका थिए ।
व्यवसायीले महाशाखामा रकम माग गरी धम्की दिएको भनी उजुरी गरेका थिए । उजुरीपछि अनुसन्धान गर्ने क्रममा गिरीलाई शुक्रबार ललितपुरबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी केदार ढकालले जानकारी दिए।
गिरीले नेपालकै तराईमा गई नेपाली सिमबाट र भारतमा पुगी भारतीय सिमकार्डबाट व्यवसायीलाई धम्की दिएको एसपी ढकालले बताए । व्यवसायीलाई धम्क्याउनकै लागि गिरी प्लेन चढेर दिल्ली गएका थिए । दिल्ली पुगेर उनले भारतीय नम्बरबाट व्यवसायीहरूलाई पालैपालो फोन गरी धम्क्याउदै रकम मागेका थिए । साउन १० गते दिल्ली गएका उनी १२ गते फर्किएका थिए।