१ फागुन, काठमाडौं । पाल्पाबाट काठमाडौ आई बसोबास गर्दै आएका पाल्पालीहरुको सवैभन्दा पुरानो साझा संस्था पाल्पाली संगमको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । संगमका निवर्तमान महासचिव विष्णु बहादुर खत्रीको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा केशव आचार्य, यम झेंडी र पाण्डप खत्री, महासचिवमा जीवन भण्डारी, सचिवमा सिता विष्ट कार्की, गोपाल राना, बालकृष्ण पोखरेल र लक्ष्मिप्रसाद शर्मा र कोषाध्यक्षमा संजय भट्टराई निर्वाचित हुनुभएको छ ।
संगमको २३ सदस्यीय कार्यसमितिको सदस्यहरुमा मञ्जु ढकाल आचार्य, पुरुषोत्तममान कर्माचार्य, मिन प्रसाद बस्याल, जगदीश नेपाल, विमला बस्याल, विश्वहरी नेपाल, डिआर पोखरेल, विमल पन्त, ओमकुमारी थापा झेंडी, भोजराज पाण्डे, विष्णुप्रसाद पाण्डे, श्रीधर अर्याल र सुरेन्द्रकुमार बस्याल निर्वाचित हुनुभएको अध्यक्ष मण्डलका संयोजक तथा संगमका पूर्व अध्यक्ष रुद्र बस्यालले जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन समारोहमा संगमले २०३९ सालदेखि प्रकाशन गर्दै आएको पाल्पा दपर्ण नामक स्मारिकाकोे मन्त्रीपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधिश खिलराज रेग्मीले सार्वजनिकिकरण गर्नु भएको थियो । उहाँले पाल्पाको विकासका लागि बौद्धिक समूहको रुपमा संगमले काम गर्दै आएको र आगामी दिनमा पनि थप योगदान हुने अपेक्षा व्यक्त गर्नुभयो ।
पाल्पा क्षेत्र नं. २ का संघीय सांसद ठाकुर गैह्रेले पाल्पाको विकासका लागि पाल्पाली संगमले अनुकरणीय भूमिका खेल्दै आएकाले आगामी दिनमा पनि थप रचनात्मक र बौद्धिक कामका लागि सहकार्य गर्न आफू तत्पर रहेका बताउनु भयो। विभिन्न पेशा व्यवसाय र अध्ययनका लागि काठमाडौमा रहेका पाल्पालीहरुले २०३२ देखि अनौपचारिक छलफल र भेटघाटवाट शुरु भएको संगम बनाउने पहल अन्तत २०३८ सालमा विभिन्न उद्धेश्य राखेर पाल्पालीहरुको साझा संस्थाको रुपमा पाल्पाली संगमको गठन गरेका थिए । यसलाई २०४७ सालमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा विधिवत दर्ता गरिएको थियो । संगमले काठमाडौमा बस्ने पाल्पालीहरुलाई संगठित गरी पाल्पाको पर्यटन, कला, संस्कृतिको प्रचार तथा प्रवद्र्धन गर्ने विविध कृयाकलाप गर्दै आइरहेको छ ।
अघिल्लो कार्यकालसम्म काठमाडौमा मात्रै सिमित पाल्पाली संगम गत बर्षदेखि विश्वका धेरै देशमा विस्तार गरिएको निवर्तमान अध्यक्ष पदम न्यौपानेले जानकारी दिनुभयो । संगमका अन्तर्राष्ट्रिय संयोजक सतीश चापागाईका अनुसार अमेरिका, पोर्चुगल, दक्षिण कोरिया र नर्वेमा पाल्पाली संगमका संयोजकहरु तोकिनु भएको छ भने अरु देशमा पनि संगमको शाखा गठनका लागि गृहकार्य भइरहेको छ । संगमले विभिन्न देश तथा ठाउँमा रहेका पाल्पा सम्बन्धी अन्य संघसंस्थाहरुलाई पनि एकिकृत गरी सहकार्यको अभ्यास पनि गर्दै आएको पूर्व अध्यक्ष यज्ञ शर्माले जानकारी दिनुभयो ।