10.1 C
Kathmandu
 

विश्वकपमा अर्जेन्टिनालाई हराएको खुसीमा साउदी अरेबियामा सार्वजनिक बिदा

७ मंसिर, काठमाडौं ।  उपाधि दावेदर अर्जेन्टिनामाथि ऐतिहासिक जित निकालेपछि साउदी अरेबियाका राजा सलमानले (बुधबार) एक दिन सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।

साउदी अरेबियाका राजा सलमानले अर्जेन्टिनाविरुद्ध २–१ को जित निकालेपछि देशमा उत्सव मनाउन (बुधबार) एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् । यो सार्वजनिक विदा सार्वजनिक र निजी क्षेत्रका साथै देशभरका विद्यार्थीहरूको लागि लागू हुनेछ । पहिलो हाफमा १–० गोलले पछि परेको साउदीले दोस्रो हाफमा ८ मिनेटको अन्तरमा दुई उत्कृष्ट गोल गर्दै ऐतिहासिक पूनरागमन जित निकाल्न सफल भएको थियो । साउदीका लागि सालेह अलशेरी र सालेम अल्दावसारीले गोल गरे । अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीको गोल सान्त्वना बन्यो ।

जितपछि साउदीका प्रशिक्षक हर्भ रेनार्डले आफ्ना खेलाडीहरूको खुलेरै उच्च प्रशंसा गरे । ‘यि उत्कृष्ट खेलाडीहरूलाई बधाई छ । मैले साढे तीन वर्षअघि यो देशमा आउने निर्णय गरेको थिएँ । यस समयदेखि मसँग व्यवस्थापन, राष्ट्रपति र खेलकुद मन्त्रालयको राम्रो समन्वय रह्यो ।’ प्रशिक्षक रेनार्डले भने, ‘हामीले तीन हप्ताअघि हाम्रा राजकुमारलाई भेट्दा पनि उसले हामीलाई कुनै दबाब दिनुभएन । हामीले धेरै राम्रो तयारी गरेका थियौं र यो नतिजा त्यसकै परिणाम हो ।’

उनले थपे, ‘तर यो नबिर्सनुहोस् कि अर्जेन्टिना अझै पनि उत्कृष्ट टोली हो । तिनीहरू ३६ मा कुनै पनि खेल नहारीकन यहाँ आएका थिए र तिनीहरू दक्षिण अमेरिकी च्याम्पियन हुन् । उनीहरूसँग अद्भुत खेलाडीहरू छन्, तर यो फुटबल हो । कहिलेकाही सोचेको हुदैन ।’ लुसेल रंगशालामा मंगलबार अर्जेन्टिनाको तीन गोल अफसाइडकै कारण मान्य हुन सकेन । पहिलो हाफमा फितलो देखिएको साउदीले दोस्रो हाफको सुरुवाती समयमा अर्जेन्टिनालाई दबाबमा राख्दै खेलमा फर्कियो । बराबरी गोलपछि पनि आक्रामक देखिएको साउदीले अग्रता लिन सफल भएको थियो ।

खेलको दोस्रो मिनेटमा नै अर्जेन्टिनाले अघि बढ्ने अवसर पाएको थियो । डी मारियाले विंगमा राम्रो मुभ बनाएपछि पेनाल्टी क्षेत्र भित्रआएको बलमा मेस्सीको प्रहार गोलरक्षक मोहमद अलोवाइसले बचाए । नवौं मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो । कर्नर प्रहार गर्ने क्रममा पेनाल्टी क्षेत्रभित्र फल भएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पेनाल्टी दिएका थिए । कप्तान लिओनेल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।

२२ औं मिनेटमा मेस्सीले डिफेन्स लाइन पार गर्दै वन भर्सेस वनको अवस्थामा सुन्दर फिनिस गरे । तर गोल भएपछि असिस्टेन्ट रेफ्रीले अफसाइडको लागि झन्डा उठाए । २९ औं मिनेटमा लौटारो मार्टिनेजले सुन्दर फिनिस गरेपनि भीएआरले त्यसलाई मान्यता दिएन । फेरी एकपटक अर्जेन्टिनाको अग्रता दोब्बर पार्ने प्रयासमा अफसाइड बाधक बन्यो । ३४ औं मिनेटमा पनि मार्टिनेजको गोल अफसाइड भएको थियो ।

दोस्रो हाफको सुरुवाती समयमा नै साउदी खेलमा फर्कियो । ४८ औं मिनेटमा सालेह अल सेहरीले सुन्दर फिनिस गर्दै खेल बराबरीमा ल्याए । फेरास अल्ब्रिकानको पासमा क्रिस्टियन रोमेरोलाई बिट गर्दै उनले गरेको प्रहार गोल भएको थियो । बराबरी गरेको ५ मिनेटमै सालेम अल दसारी साउदीलाई अप्रत्याशित अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहार गोल भएको थियो । गोलरक्षक एमिलियानो मार्टिनेजले उक्त प्रहार छोएपनि गोल बचाउन भने सकेनन् ।

६३ औं मिनेटमा अर्जेन्टिनाले खेलमा फर्कने सुवर्ण अवसर सदुपयोग गर्न सकेन । निकोलस टाग्लियाफिकोले ६ यार्ड बक्स भित्रबाट गरेको प्रहार गोलरक्षक मोहमद अलोवाइसले डाइभ दिँदै बचाए । ७२ औं मिनेटमा डी मारियाको पेनाल्टी क्षेत्र भित्रको प्रहारलाई पनि अलोवाइसले विफल पारे । ८४ औं मिनेटमा मेस्सीको हेडरमा पुन: एकपटक अलोवाइस बाधक बने । अर्जेन्टिनाले अन्त्यतिर लगातार आक्रमण गरेपनि साउदी गोलरक्षक अलोवाइसलाई समस्या दिन सकेन । यससँगै समूह सी मा साउदी अरेबियाले ३ अंक जोडेको छ । यसै समूहको अर्को खेलमा आज पोल्यान्ड र मेक्सिको भिड्दैछन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर