काठमाडौं । संसदको सार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकमा नेपाल वायुसेवा निगमले हालै खरिद गरेको वाइडबडी विमानमा अनियमितता भएको भन्दै सत्तारुढ दलकै सांसदहरुले कारबाही सिफारिस गर्न माग गरेका छन् ।
लेखा समितिका सदस्य तथा नेकपाका सांसद प्रेमबहादुर आलेले महालेखा परीक्षकको प्रतिवेदनले नै विमान खरिदमा अनियमतिता भएका ठहर गरिसेकेकोले दोषीमाथि कारबाही गर्नैपर्ने बताउँदै निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले महालेखाको प्रतिवेदनले औंल्याएका कुरा सही भएको स्वीकार गरेकोबाट अनियमिता भएको पुष्टि भएको भन्दै कारबाहीका लागि सिफारिस हुनुपर्ने बताए । समिति बैठकमा सांसद आलेले भने, ‘निगमले खरिद गरेको विमानमा भ्रष्टाचार भएको तथ्य जगजाहेर छ, अब समितिले दरो भएर यसमा संलग्नहरुमाथि कारबाहीको सिफारिस गर्न सक्नुपर्छ । ’
यसैगरी नेकपाकै सांसद अमनलाल मोदीले भ्रष्टाचार भएको देखिएकाले विमान खरिदमा संलग्न अधिकारीहरुलाई कारबाही हुनुपर्ने बताए । बैठकमा सहभागी अन्य सांसदहरुले समेत यसमा घोटाला भएकोले कारबाहीको माग राखेका थिए ।
बयानका लागि बैठकमा गएका निगमका महाप्रवन्धक कंसाकारले भने वाइडबडी जहाज खरिद प्रकरणमा अनियमितता नभएको दाबी गदै समितिसमक्ष भने, ‘हामीले खरिद गरेको भन्दा सस्तोमा जहाज आउँछ भन्ने पनि कुरा आयो’ ‘हामीले टेण्डर आह्वान गरेर जहाज खरिद गरेका हौं । सस्तोमा दिन्थ्यो भने त्यो कम्पनीले किन टेण्डर हालेन ?
अर्का सांसद सूर्य पाठकले भने, ‘के त्यसो भए महालेखा परीक्षकको प्रतिवेदन गलत छ त ? ठोस जवाफ दिनुहोस्’ भनेपछि महाप्रवन्धक कंसाकारले महालेखा जस्तो निकायले गलत प्रतिवेदन दिएको आफूले भन्न नसक्ने बताएका छन् ।
लेखा समितिका सभापति भरत शाहले नियम कानून अनुसार चल्ने र अहिले नै कुनै सिफारिस नहुने बताएका छन् । । आगामी १२ गते थप छलफल गरेर समिति आवश्यक निर्णयमा पुग्ने उनले बताए ।