21.1 C
Kathmandu
 

खाद्य वस्तु बिक्रीमा,२५ प्रतिशत महँगीको मारमा उपभोक्ता दशैंमा

काठमाडौं-  दशैं नजिकिँदै जाँदा खाद्यान्नको माग र मूल्य दुवै बढेको छ । अन्य समयमा भन्दा दशैंमा खाद्यान्नको माग २५ प्रतिशतसम्मले बढ्ने गरेको छ ।

व्यवसायीले चामल बोरामै ५० रुपैयाँले बढाएर बिक्री गरिरहेका छन् । दशंैका बेला दुई चार सयको मुख नहेरी उपभोक्ताले सामान खरिद गर्ने भएकाले पनि व्यापारीलाई यो अवसर मिलेको हो ।

विशेष गरेर दशैंमा कपडा, जुत्ता, खाद्यान्न, गेडागुडी, माछामासु, मदिरा, तरकारी, मसला, ड्राइ फ्रुट्स तथा फलफूलको व्यापार बढ्ने गरेको व्यापारीहरू बताउँछन् ।

शनिबार असन, इन्द्रचोक, खिचापोखरी, न्युरोड, विशालबजार, महाबौद्धलगायतका व्यापारिक केन्द्रमा ग्राहकको ठेलमठेला थियो । दरवारमार्ग तथा भाटभटेनीजस्ता ठूला स्टोरमा पनि उत्तिकै भीड लागेको छ ।

दशैंमा प्रायः सबै व्यापारिक केन्द्रको व्यापार दोब्बर हुने गरेको छ । शनिबार भए पनि दशैं आएकाले ग्राहकको संख्या ह्वात्तै बढेको जेपी ट्रेडर्सका सञ्चालक रोमन बज्राचार्यले बताए । ‘दशैंसँगै व्यापार बढेको छ,’ उनले भने–‘अन्य समयमा भन्दा दशैंमा दोब्बर व्यापार हुन्छ । दशैंका लागि विदेशबाट नेपालमा सामान आउने गर्दछ ।

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले दशैं नजिकिएसँगै बजारमा उपभोक्ताको भीड बढेको बताए । सामान्य समयको तुलनामा दशैंमा २५ प्रतिशतभन्दा बढी खाद्यवस्तु बिक्री हुने गरेको उनले बताए ।

‘विशेष गरेर दशैंमा चिउरा, मासु, मदिरालगायतका वस्तु धेरै खपत हुन्छ,’ उनले भने– ‘व्यापारीले नेपाली उत्पादनसँगै विदेशी उत्पादनसमेत बिक्री वितरण गर्ने गर्छन् ।’ चाडपर्वका अवसरमा चामल, दाल, तेल, नुन, चिनी, मैदा, मसला, बिस्कुटलगायत खाद्यान्नको झन्डै दोब्बर खपत हुने गरेको छ ।

आर्थिक अवस्था नाजुक हुनेसमेत दशैं तिहारमा ऋण काडेरै भए पनि मिठो खाने र राम्रो लगाउने नेपाली प्रचलन छ । अन्य समयमा दुई छाक टार्न मुस्किल हुनेहरूले पनि दशैं भने विशेष गरेर मनाउने भएकाले पनि व्यापार बढ्ने गरेको हो ।

यही मौका छोपेर व्यापारीहरूले उपभोक्तासँग टन्न रकम असुल्ने गरेका हुन्छन् । भीडभाड बजारमा सरकारी उपस्थिति छैन । दैनिक खाद्यवस्तुमध्ये चामल, खाने तेल, मैदा, आटाको बजारभाउ बढेको छ । प्रतिबोरा चामलमा ५० देखि ७० रूपैयाँसम्म मूल्यवृद्धि भएको छ ।

त्यस्तैै खाने तेलमा प्रतिलिटर १० देखि २० रूपैयाँ बढेको छ । ‘थोक आयात गर्दा डलरको विनिमय दरको वृद्धिले खाद्यान्नको मूल्य बढाएको हो,’ बज्र्रचार्यले भने–‘सोयाबिन, तोरी र सनफ्लावर तेलको मूल्यमा पनि वृद्धि भएको छ ।’ प्रतिकिलो ४८ रूपैयाँमा बिक्री हुने मैदा ५५ पुगेको छ । मैदाको मूल्यवृद्धिको असर बिस्कुट, पाउरोटी, केकजस्ता पदार्थमा परेको छ ।
चाडबाडमा धेरै बिक्री हुने फलफूलको मूल्य पनि अकासिएको छ । फलफूल १० प्रतिशतभन्दा बढी महँगिएको नेपाल फलफूल व्यवसायी केन्द्रीय संघका कोषाध्यक्ष काशीराम सापकोटाकाले बताए ।

‘थोकमा ९० रूपैयाँ किलोमा बिक्री हुने विदेशी स्याउको मूल्य एक सय पाँच पुगेको छ’, उनले भने ‘स्याउसँगै अन्य फलफूलको मूल्यमा पनि यसरी नै वृद्धि भएको छ । ’

चाडपर्वमा धेरै रुचाइने ड्राइ फ्रुट्सको मूल्य पनि बढेको छ । माग बढेका कारण काजु, पेस्ता, किसमिस, बदाम र सुख्खा नरिवल महँगिएको हो । यिनमा प्रतिकिलोमै तीन सय रूपैयाँसम्म भाउ बढेको छ । खुद्रा व्यापार संघ पूर्वअध्यक्ष बज्राचार्यले यी वस्तु भारतलगायत तेस्रो मुलुकबाट आयात हुने भएकाले डलरभाउसँगै महँगिएको बताए ।

एक हजार तीन सय प्रतिकिलोमा पाइने काजुको मूल्य एक हजार ६ सय पुगेको छ । एक हजार चार सय बिक्री मूल्य रहेको पेस्ताको मूल्य एक हजार सात सय पुगेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर