19.1 C
Kathmandu
 

जनकपुर विमानस्थलमा राजपा सांसद साहद्वारा तोडफोड, व्यवस्थापक र सांसदबीच कुटाकुट

धनुषा – राष्ट्रिय जनता पार्टी नेपालका एक जना सांसदले जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् ।

उडान ढिलो भएको भन्दै सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएका प्रतिनिधि सभा सांसद प्रमोदकुमार साहले सोमबार जनकपुर विमानस्थलमा तोडफोड गर्नुभएको ह‍ो ।

बुद्ध एअरको विमानमा एक जना मिर्गाैलाका बिरामीलाई समयमै काठमाण्डौ पुग्नुपर्ने भए पनि बिहान ११:४० बजे आइपुग्नुपर्ने विमान दिउँसो साढे एक बजेसम्म नआएको भन्दै सांसद साहले तोडफोड गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । त्यसक्रममा सांसद साह र बुद्ध एअरका व्यवस्थापक प्रमुख विजयकुमार सिंहबीच कुटाकुट समेत भएको थियो ।

आफू आक्रोशमा आएर बुद्ध एअरको काउण्टरमा सामान्य तोडफोड गरेको सांसद साहले स्वीकार्नुभएको छ । विमानस्थलमा कर्मचारीको लापर्वाहीका कारण समय समयमा यस्ता घटनाहरु हुँदै आए पनि विमानस्थल प्रशासनले कुनै ध्यान नदिएको उहाँको गुनासो छ ।

जनकपुरधाम उपमहानगरपालिका ४ का ६५ वर्षीय सौखीलाल चौधरीलाई काठमाण्डौ पठाउनका लागि आफूले विमानस्थलका व्यवस्थापकहरुलाई पटक-पटक फोन गर्दा पनि कुनै चासो नदेखाएपछि बुद्ध एअरको काउण्टरमा तोडफोड गरेको सांसद साहले बताउनुभयो ।

यता बिरामी चौधरीले आफू बिहान ११ बजे नै आए पनि दिउँसो २ बजेसम्म पनि विमानस्थलका कर्मचारीहरुले कुनै वास्ता नगरेको र सांसद साहले आफ्नो अवस्था हेरेर आवेगमा आएको बताउनुभयो ।

 

बुद्ध एअरका व्यवस्थापक प्रमुख विजयकुमार सिंहले काठमाण्डौको प्राविधिक कारणले विमान ढिलाइ भएको र त्यसबारेमा यात्रुहरुलाई जानकारी गराउँदा पनि सांसद साहले काउण्टर तोडफोड र कर्मचारीसँग दुर्व्यवहार गरेको आरोप लगाउनुभयो ।

सांसद साहले तोडफोड गरेपछि केहीबेर विमानस्थलको अवस्था तनावग्रस्त बनेको थियो । बुद्ध एअरको त्यही उडानमा काठमाण्डौ जान लाग्नुभएका सांसद साहलाई बुद्ध एअरका कर्मचारी र व्यवस्थापक प्रमुख सिंहले विमान चढ्नबाट रोकेका थिए । त्यही क्रममा सांसद साह र व्यवस्थापक प्रमुखबीच हातपातसमेत भएको थियो ।

त्यसपछि धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलकाे पहलमा सांसद साह विमानमा बसेर काठमाण्डौ जान सफल हुनुभयो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर