काठमाडौं । चिनी उत्पादक संघले पाँच दिनभित्र किसानहरुको बक्यौता रकम तिर्न नसक्ने जवाफ दिएको छ ।
सरकारले पाँच दिनभित्र किसानको उखुको तिर्न बाँकी रकम तिर्न निर्देशन दिए पनि संघले उक्त निर्देशनप्रति नै आपत्ति जनाएको छ ।
चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालले सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिको मंगलबारको बैठकमा चिनीको बक्यौता रकम तिर्न सरकारले आफूहरुको गोदाममा थन्किएर बसेको चिनी खरिद गर्नुपर्ने शर्त राखे । अध्यक्ष अग्रवालले २५ प्रतिशत चिनी विक्री हुँदा आफूहरुले किसानहरुलाई ६२ प्रतिशत भुक्तानी गर्दा पनि सरकार र संसदीय समितिले असन्तुष्टि जनाएकोमा पनि आपत्ति जनाए ।
किसानहरुको १ अर्ब ५० करोड बक्यौता रकम तिहारपछि मात्रै तिर्ने गरी गरिएको सहमति पनि सरकारले तोडेको अध्यक्ष अग्रवालको आरोप छ । संघले चिनीको मूल्य वृद्धि नभएको दावी पनि गरेको छ । गत वर्ष प्रतिकेजी ६३ रुपैयाँमा बिक्री गरिएको चिनीको मूल्य यस वर्ष ५७ रुपैयाँ कायम गर्दा पनि विरोध गरिएको अध्यक्ष अग्रवालको गुनासो छ ।
अध्यक्ष अग्रवालले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य सस्तिएपछि स्वदेशी उद्योगलाई जोगाउन आफूहरुले केही समयका लागि सरकारलाई चिनीको आयातमा प्रतिबन्ध गराउन आग्रह गरेको पनि स्पष्टिकरण दिए । बैठकमा उपसमितिका सदस्यहरुले चिनीको मूल्य किन बढाएको भन्दै चिनी उत्पादकको निर्णयको आलोचना गरेका थिए ।
#अनलाइन खबर बाट सासाभार गरिएको