काठमाडौं । नवलपरासीको देवचुली र दुम्किवासमा बनाउँदै नबनाएको ट्युबेलको काम गरेको भनी लाखौं रकम हिनामिना गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा पम्प हाउस, स्टोरेज ट्याङ्की र वितरण प्रणाली निर्माण कार्यको ठेक्कामा राज्यकोषको रकम हिनामिना भएको पाइएको हो ।
ठेकेदार र उपभोक्ता समिति मिलेर झुटो बिल भरपाई पेस गरी भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन, वुटवल, रूपन्देहीबाट ९ लाख ३२ हजार ५ सय ४८ रूपैयाँ ७३ पैसा भुक्तानी लिइएको थियो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
सो कार्यमा संलग्न डिभिजनका कर्मचारी, ठेकेदार र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो । मुद्दामा कार्यालयका तत्कालीन कार्यालय प्रमुख इच्छाकुमार श्रेष्ठ, इन्जिनियर सन्तोषकुमार दास, लेखापाल नेत्रप्रसाद मरासिनीलाई प्रतिवादी बनाइएको छ ।