19.1 C
Kathmandu
 

दाङमा प्रदेशस्तरीय सरकारी इञ्जिनियरिङ क्याम्पस सञ्‍चालन हुने

दाङ । दाङमा त्रिभुवन विश्वविद्यालयको प्रदेशस्तरीय इञ्जिनियरिङ क्याम्पस थपिने भएको छ । झण्डै चार वर्षको प्रयासपछि दाङमा सरकारी इञ्जिनियरिङको पढाइ सञ्चालन गर्ने औपचारिक निर्णय भएपछि महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा इञ्जिनियरिङको पढाइ हुने भएको हो ।

शिक्षामन्त्री गिरिराजमणि पोख्रेलका प्रमुख सल्लाहकार जीवन गौतमका अनुसार प्रदेशहरुमा सरकारी इञ्जिनियरिङ क्याम्पस सञ्चालन गर्ने सरकारको योजना अनुसार यो वर्ष प्रदेश २, ५ र ७ मा नयाँ क्याम्पस थपिएको हो । दुईपटकको सम्भाव्यता अध्ययनपछि प्रदेश ५ को इञ्जिनियरिङ क्याम्पस दाङमै उपयुक्त हुने र त्यो पनि पर्याप्त जमीन भएको त्रिभुवन विश्वविद्यालको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसकै नयाँ संकायको रुपमा राख्न सहज हुने प्रतिवेदन आएपछि सरकारले सोहीअनुसार निर्णय गरेको शिक्षामन्त्री पोख्रेलका प्रमुख सल्लाहकार गौतमले वताए ।

अहिले त्रिभुवन विश्वविद्यालयका चार वटा इञ्जिनियरिङ क्याम्पस चलिरहेका छन् । पुल्चोक, थापाथली, पोखरा र धरानमा त्रिविका इञ्जिनियरिङ क्याम्पस रहेका छन् । दाङमा इञ्जिनियरिङ कक्षा सञ्चालन भयो भने पनि सोही स्तरको पढाइ दाङमै हुनेछ ।

शिक्षामन्त्री पोख्रेलले इञ्जिनियरिङ क्याम्पस नखुलेका प्रदेशमा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न कार्यदल बनाएका थिए । उक्त कार्यदलले भौगोलिक अवस्थिति र वातावरणीय दृष्टिले प्रदेश ५ को सरकारी इञ्जिनियरिङ क्याम्पस सञ्चालन गर्न दाङमै उपयुक्त हुने प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनका आधारमा शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगलाई थप संभाव्यता अध्ययनका लागि अनुरोध गरेको थियो ।

सोही अनुरोधका आधारमा आयोगका सदस्य सचिव प्रा. डा. देवराज अधिकारीको संयोजकत्वमा समिति बनाई आयोगले दोस्रोपटकको सम्भाव्यता अध्ययन गरेको थियो । सो समितिले पनि प्रदेशको इञ्जिनियरिङ क्याम्पस दाङमै उपयुक्त हुने निष्कर्षसहित दाङ देउखुरीका विभिन्न भागमा पर्याप्त जमीन रहेकाले महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा नयाँ संकायको रुपमा चलाउनु उपयुक्त हुने प्रतिवेदन दिएको थियो ।

समितिको प्रतिवेदन अनुदान आयोगको बोर्डले पारित गरेर मन्त्रालयमा पठाएपछि शिक्षा मन्त्रालयले गत आर्थिक वर्ष नै दाङमा सरकारी इञ्जिनियरिङ क्याम्पस खोल्ने निर्णय गरेको थियो । फलस्वरुप चालु आर्थिक वर्षको बजेटमा प्रदेश २, ५ र ७ मा नयाँ इञ्जिनियरिङ क्याम्पसको विस्तृत परियोजना प्रतिवेजन (डिपिआर) निर्माणका लागि ८९ लाख ८० हजार बजेट विनियोजन गरेको शिक्षामन्त्रीका प्रमुख सल्लाहकार गौतमले जानकारी दिए ।

वार्षिक बजेटका आधारमा विश्वविद्यालय अनुदान आयोगले गत सोमवार मात्रै त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गरी काम अघि बढाउन आग्रह गरेको आयोगका सदस्य सचिव प्रा. डा. अधिकारीले जानकारी दिए ।

डीपीआरपछि अर्को वर्षबाट भवन निर्माणलगायतका काम सुरु हुने भए पनि मौजुदा पूर्वाधार प्रयोग गरेर आगामी शैक्षिक सत्रबाटै इञ्जिनियरिङ अध्ययनका लागि प्रक्रिया अघि बढाइने मन्त्रीका प्रमुख सल्लाहकार गौतमले जानकारी दिए ।

यसैबीच शिक्षामन्त्रीका प्रमुख सल्लाहकार गौतमले पछिल्लो समयमा भइरहेका प्रगतिको स्वामित्व लिन दाङवासीलाई आग्रह गरेका छन । “एउटाको पहलमा आएका संस्थाहरुमा अरुले असहयोग गर्ने क्रम दाङको प्रवृत्तिजस्तो देखिन थालेको छ’, उनले भने, ‘यो समस्या तत्काल रोक्नुपर्छ र दाङले पाएका उपलब्धिलाई साझा दाङवासीको सम्पत्तिको रुपमा लिएर थप विकास गर्न मेरो विशेष अनुरोध छ।’

गत वर्ष मात्रै प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को आंगिक कलेजको रुपमा सहिद बहुप्राविधिक शिक्षालय सञ्चालनमा आएको छ भने यो वर्षदेखि तुलसीपुरमा उपमहानगर सगको साझेदारीमा बहुप्राविधिक शिक्षालय सञ्चालनमा आएको छ ।

गत र यो वर्ष दाङमा २३ वटा सामुदायिक विद्यालयले प्राविधिक कक्षा सञ्चालनको अनुमति पाएका छन् भने बाल मन्दिरलाई प्रदेशस्तरको विशेष विद्यालयको रुपमा स्थापना गर्ने प्रक्रिया सुरु भइसकेको छ । त्यस्तै दाङका सात विद्यालयले नमूना विद्यालयको मान्यता पाएका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर