30.1 C
Kathmandu
 

भोलिदेखि भरतपुरको जलदेवीमा जीपलाइन सञ्चालन हुँदै

चितवन । भरतपुरको  आँपटारीमा रहेको जलदेवी सामुदायिक वनमा भोलि (बुधबार) देखि साहसिक खेल ‘जीपलाइन’ सञ्‍चालन हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई  लक्षित गर्दै ‘जीपलाइन’ सञ्चालन गर्न लागिएको हो ।

इको टुरिजमको अवधारणा अन्तर्गत वाइल्ड वन्डर्स प्रालीको परिकल्पना र प्राविधिक सहयोगमा सामुदायिक वन भित्र भोली बुधबारबाट ‘जीपलाइन’ सञ्‍चालनमा आउने मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ  ।

जीपलाइनको प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको जीपलाइन व्यवस्थापक समितीका संयोजक माधव देवकोटाले जानकारी दिए । जीप लाइनको माध्यमबाट वन जङ्गलको संरक्षण र प्रवर्द्न गर्दै पर्यटन प्रर्वद्धनका लागि सञ्चालनमा ल्याइएको उनले बताए ।

सो अवसरमा बोल्दै वनका अध्यक्ष केशब बहादुर थापाले नेपाल भ्रमणबर्ष २०२० लाई लक्षित गर्दै पर्यटन गतिविधी बढाउन र पर्यटन क्षेत्रको बिकासको लागि जीप लाइन सञ्‍चालन गर्न लागिएको बताए ।

‘बढ्दो वन विनाश नियन्त्रण गर्नु, रोजगार सृजना गर्नु, साहसिक खेलमार्फत मनोबल बढाउनु, आन्तरिक तथा बाह्य पर्यटक चितवन भित्र्याउनु, राजस्व वृद्धिमा टेवा पुर्‍याउनु यसको उद्देश्य हो,’ थापाले भने । उनका अनुसार  जीप लाइन ७५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । जीपलाइन निर्माणका लागि सामुदायिक वनका ५० जना शेयर सदस्यहरुले लगानी रहेको छ ।

जीपलाइन सफारीका लागि लम्बाई अनुसारको शुल्क तय गरिएको छ । रुट नम्बर १ मा स्टेसन ए देखी स्टेसन बी सम्म १ सय १२ मिटर र स्टेसन बीदेखि स्टेसन सीसम्म ८५ मिटर रहेको छ । यसको शुल्क ५०० रुपैँया राखिएको छ । फोटो भिडियो शुल्क ३५० रुपैँया लाग्नेछ । उता रुट नम्बर २ मा स्टेसन सि देखी डि सम्म १७५ मिटरको दुरी रहेको छ भने यसको शुल्क ६०० रुपैँया तोकिएको छ । यसमा पनि फोटो भिडियो शुल्क ३५० रुपैँया नै राखिएको छ ।

यसैगरी  रुट नम्बर १ र २ दुबै खेल्न चाहेमा नेपाली नागरिकका लागि ९०० रुपैँया शुल्क लाग्नेछ भने फोटो भिडियो लिन चाहेमा थप ५०० रुपैँया लाग्नेछ । सार्क राष्ट्रका पर्यटकको लागि १ हजार ५ सय तथा सार्क बाहिरका पर्यटकका लागि २ हजार रुपैँया शुल्क निर्धारण गरिएको छ भने भिडियो लिन चाहेमा थप ७०० रुपैँया लाग्नेछ । बालबालिकाहरुका लागि पनि ३५ मिटर दूरीको छुट्टै जीप लाइन निर्माण भईरहेको उनले जानकारी दिए । जीप लाइन खेल्ने सबैको सात लाखको जीवन बिमाको व्यवस्था पनि गरिएको छ ।

हाल सञ्चालनमा ल्याइएको वनको चिल्ड्रेन पार्क र पिकनिक स्पटबाट हुने आम्दानीबाट २० जना निम्न बर्गका विद्यार्थीहरुको सम्पूर्ण खर्च व्यहोर्दै आईरहेको छ भने निम्न आय भएका ६८ परिवारको ३४० जना सदस्यहरुका लागि ३४ लाख बराबरको उपचार एवं औषधी सेवा उपलब्ध गराईरहेको सो अवसरमा बताइएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर