16.1 C
Kathmandu
 

खुम्बुका लागि हिँडेका पर्यटक माैसम खराबीका कारण अन्यत्र जाँदै

सोलुखुम्बु – खुम्बु क्षेत्रको मौसम प्रतिकुल हुँदा यता आउन हिँडेका अधिकांश पर्यटक अन्यत्र जान थालेका छन् ।

काठमाण्डौबाट लुक्ला उडानकोे पर्खाइमा बसेका पर्यटकहरु हवाइ सेवा प्रभावित हुनेबित्तिकै अन्नपूर्ण पदमार्ग तर्फ जान थालेका पर्यटन व्यवसायीहरुले बताएका छन् ।

सगरमाथा क्षेत्रको भ्रमण तालिका बनाएर आएका उनीहरु खुम्बुको विकल्पको रुपमा अन्नपूर्ण क्षेत्रलाई रोज्ने गरेको पर्यटन व्यवसायी लामा काजी शेर्पाको भनाइ छ । उहाँका अनुसार ४ दिनसम्म लुक्लामा कुनै पनि उडान नहुँदा करिब ९ सयको हाराहारीमा खुम्बु आउने पर्यटकहरु अन्य पदमार्ग तर्फ लागेका हुन् ।

लुक्लाको उडान रद्ध भएपछि पर्यटकसमेत अन्नपूर्ण क्षेत्र जानेगरी गन्तव्य परिवर्तन गर्नेगरेको टानका अध्यक्ष खुम बहादुर सुबेदीले बताउनुभयो । विदेशी पर्यटकहरुको हवाइ मार्गमा चाप अत्याधिक भए पनि मौसम प्रतिकूल हुँदा समस्या भएको स्काइ नेपाल ट्रेक्स् प्रा.लि काठमाण्डौका निर्देशक बल बहादुर दर्नालले बताउनुभयो ।

खुम्बु आउने एक मात्र सहज माध्यम मानिएको हवाई सेवा प्रभावित हुँदा जिल्लाको पर्यटन क्षेत्रमा ठूलो असर परेको पर्यटन ब्यवसायीहरुको भनाई छ ।

लुक्लाको होटल भरिभराउ 

मौसम प्रतिकूल भएर उडान नभएपछि लुक्लाको होटल खचाखच भरिएको छ । भ्रमणको निश्चित समय सकेर माथिल्लो क्षेत्रबाट फर्केका पर्यटकहरु उडान नहुँदा लुक्लामै बसेका छन् । विगत ४ दिनदेखि मौसम खराबीका कारण कुनै पनि उडान तथा अवतरण हुन नसकेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका वरिष्ठ अधिकृत रोहित कर्णले जानकारी दिनुभयो ।

होटल व्यवसायी जाङमु शेर्पाका अनुसार अहिले लुक्लामा ४ सय जनाभन्दा बढी पर्यटकहरु काठमाण्डाै जानका लागि विमानको पर्खाइमा छन् । खुम्बुको माथिल्लो क्षेत्रको भ्रमण सकेर फर्केका पर्यटकहरु लुक्लामा विमानको पखाइमा बसेका हुन् ।

उपभाेग्य वस्तुकाे मूल्य समेत बढ्ने

हवाइ सेवा अवरुद्ध हुँदा खुम्बु क्षेत्रमा खाद्यन्नको भाउ बढ्ने सम्भावना बढेको स्थानीयले बताएका छन् । खुम्बु क्षेत्रमा ढुवानी हुँदै आएको कार्गो सेवासमेत मौसमका कारण बन्द भएपछि दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न सक्ने पर्यटन व्यवसायी लामा काजी शेर्पाले बताउनुभयो । हवाइ सेवा अवरुद्ध हुँदा ढुवानी बन्द हुने र ढुवानी भएका खाद्यन्न समेत सकिँदै जाने भएकाले मूल्य बढ्ने उहाँको भनाइ छ ।

मजदुर भन्छन्-खर्च अभाव हुने भयो

उडान नभएपछि रोजगारीको खोजीमा खुम्बु पुगेका मजदुरलाई समेत समस्या भएको छ । जिल्लाको तल्लो क्षेत्रबाट कामको सिलसिलामा खुम्बु पुगेका अधिकांश युवाहरु पर्यटक नआएपछि त्यतिकै बस्न बाध्य भएका छन् ।

रोजगारीको खोजी गर्दै लुक्ला पुगेका महाकुलुङका लक्ष्मण खालिङका अनुसार लुक्लामा सयौँ युवा पर्यटकको पर्खाइमा छन् । पर्यटकीय सिजन सुरु भएसँगै कामको खोजीमा खुम्बु पुगेकाहरु मौसम प्रतिकूलताका कारण समस्यामा परेका उहाँकाे भनाइ छ ।

कोठामै बसेर खाँदा खर्चसमेत सकिएको अर्का मजदुर मन कुमार राईले बताउनुभयो । जिल्लाको तल्लो क्षेत्रका स्थानीय यो सिजनमा पर्यटक भरिया, सहयोगी, सिकर्मी, डकर्मीको रुपमा खुम्बु क्षेत्र जाने प्रचलन रहेको छ । उनीहरु महत्वपूर्ण चाड दशैँ तिहारमा समेत खुम्बु क्षेत्रमै पर्यटकसँग रमाउने गर्छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर