23.1 C
Kathmandu
 

छब्बीस हजार ८७८ रूख काटिए, वृक्षारोपण शून्य

ईश्वर तामाङ,उदयपुर - संवेदनशील मानिएको चुरे र महाभारत पर्वत शृंखलामा तीन वर्षयता हजारौं रुख काटिएका छन् । त्यस क्षेत्रमा विद्युत र सडक विस्तारसँगै सामुदायिक वनको कार्ययोजना अनुसार उदयपुरमा २६ हजार ८७८ रुख काटिएको छन् ।

जिल्लाको सामुदायिक वन क्षेत्रबाट ८ हजार ३९३ रुख काटिएको छ भने सगरमाथा लोकमार्ग, नदाहा–फत्तेपुर–धरान–चतरा–सिन्धुली–हेटौंडा सडक योजना, सोलु विद्युत कोरिडोर १३२ केभी र हेटौंडा–ढल्केबर–दुहबी ४०० केभी प्रसारण लाइन आयोजना विस्तारका लागि रुख काटिएका हुन् ।

उदयपुरमा सडक तथा आयोजनाको नाममा २६४ दशमलब ४४ हेक्टर क्षेत्रफलबाट १८ हजार ४८५ रुख काटिएको छ । आयोजना विस्तारका क्रममा हरियो रुख नै काटिएका छन् । सामुदायिक वनले भने ढलापडा र सुख्खा रुख कटान गरेको हो । सरकारले तोकेको मापदण्डअनुसार नै रुख काटिए पनि सरकारको नीतिअनुरुप वृक्षरोपण भने गरिएको छैन ।

वन मन्त्रालयको नीतिमा एक रुख काटिए वापत २५ वटा रुख रोप्नु पर्ने भनिए पनि यसो गरिएको छैन । सडक र विद्युत विस्तारका लागि रुख काटिए पनि रुख रोप्ने काम नभएको डिभिजन वन कार्यालयले जनाएको छ । सडक विस्तार भएको क्षेत्रका ४१ सामुदायिक वन क्षेत्रका रुख काटिएको हो ।

सडक र विद्युत विस्तार अयोजनका लागि वातावरणीय असर प्रभाव मूल्याङ्कन गरी काटिएको छ । तर सामुदायिक वन उपभोक्ता समूहले वातावरणीय असर प्रभाव मूल्याङ्कन नगरेको वन सम्बद्ध अधिकारी बताउँछन । रुख काटिएको क्षेत्रमा हालसम्म वृक्षारोपण भएको छैन, डिभिजन वन कार्यालय गाईघाटका उपसचिव वासुदेव झाले भने, ‘रुख काटिएको क्षेत्रमा २५ गुणा बढी संख्यामा रुख रोप्नुपर्ने हो । तर अहिलेसम्म वृक्षरोपणको काम भएको छैन ।’

रुख रोप्नका लागि बजेट माग गरिए पनि हालसम्म निकासा नभएको धरान–चतरा– हेटांैडा सडक योजना पूर्वी खण्ड कार्यालय गाईघाटले जनाएको छ । ‘रुख रोप्नका लागि १ करोड ५७ लाख ३४ हजार रुपैयाँ लागत लाग्छ’, डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले भने, ‘तर हालसम्म रकम उपलब्ध भएको छैन ।’ रकम उपलब्ध भए वन कार्यालयले नै रुख रोप्ने उनले जानकारी दिए ।स्वरुप ७१ दशमलब ८७ हेक्टरमा १ लाख १४ हजार ९९२ विरुवा रोप्नु पर्ने हुन्छ । बिरुवा रोप्नुपर्ने ७१ दशमलब ८७ हेक्टर जग्गा उपलब्ध गराउन पनि समस्या हुने वन अधिकारी बताउँछन् । सडक विस्तारका लागि ठूलो संख्यामा रुख काटिँदा वातावरणीय असर पर्ने सर्वसाधारणले गुनासो गरेका छन् । एकै पटक ठूलो संख्यामा रुख काटिने र त्यसको क्षतिपूर्तिस्वरुप रुख नरोप्दा वातावरणमा असर पर्ने त्रियुगा सभ्यता बचाउँ अभियानका अभियान्ता भरत खड्काले बताए ।

जिल्लाको कुल क्षेत्रफल २ लाख ६ हजार ३ सय हेक्टर जमिनमध्ये उदयपुरमा ५३ दशमलब ७३ प्रतिशत क्षेत्रफल वनजंगलले ओगटेको छ ।

जिल्लाको चुरे तराईसँग जोडिएको भू–भाग अति नै कोमल सम्वेदनशील पर्वत, चुरे तथा महाभारत शृंखला बीचको भित्री मधेश हुँदै फैलिएको छ । यहाँ समुद्र तहबाट ३६० मिटरदेखि ३ हजार मिटर उचाइसम्म फैलिएको छ । टोपोग्राफीको दृष्टिकोणले यसलाई तराई तथा भावर, चुरे क्षेत्र, भित्री मधेश, महाभारत शृंखला तथा मध्यपहाडी क्षेत्रमा विभाजन गर्न सकिने बताइन्छ । दक्षिण तर्फ चुरेको फेदीमा केही समथर तराई क्षेत्र र ढुंगा बलौटे मिसिएको भावर क्षेत्र छ भने चुरेको दक्षिण मोहडा धेरै भिरालो छ भने उत्तरी मोहडा कम भिरालो रहेको हुँदा यहाँका रुख कटान गर्नु जोखिम छ, एक वन विज्ञको भनाइ छ ।

उनका अनुसार भित्री मधेश धेरै जसो समथर भएर पूर्व तथा पश्चिमतिर ‘स्लोप’ देखिन्छ । महाभारत निकै भिरालो छ । चुरे क्षेत्र अत्याधिक भूक्षय भएको क्षेत्र हो भने महाभारत केही कम भूक्षय हुने क्षेत्र हो । यहाँ विकास गर्दा संवेदनशील क्षेत्र भएकाले निकै सोचवचार गरेर मात्र काम गर्नुपर्ने उनले सुझाएका छन् । एक रुख बराबर २५ रोप्नु पर्ने नियमअनुसार ६ लाख ७१ हजार ९५० बिरुवा रोप्नु पर्नेछ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर