22.1 C
Kathmandu
 

ललितपुर क्षेत्रको वाग्मती सफाइको नेतृत्व महानगरले लिने

काठमाण्डाै – वाग्मती नदीको ललितपुर क्षेत्रतर्फको सफाइको जिम्मेवारी ललितपुर महानगरपालिकाले लिने भएको छ ।

वाग्मती सफाइ महाअभियानको ३२९औँ हप्तामा थापाथली पुलमुनिको नदी किनारको ललितपुर क्षेत्रको सफाइका अवसरमा नगरप्रमुख चिरीबाबु महर्जनले महानगरका सबै वडालाई परिचालन गरी स्थानीयवासीको सहभागितासमेत जुटाएर सफाइ अभियान चलाउने प्रतिबद्धता जनाउनुभयो ।

नदीमा फोहर गर्नेलाई स्थानीय सरकारले कारवाही गर्ने गरी तयारी गरिरहेको जानकारीसमेत उहाँले दिनुभयो । सफाइमा २२ संस्थाका ५०० भन्दा धेरै अभियानकर्मीको सक्रियता थियो । आजको सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन भएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो ।

सफाइमा पूर्वराजदूत किशोर थापा, पूर्वराजदूत भिक्ट्रीशम्शेर राणा, अधिकारसम्पन्न वाग्मतीका आयोजना प्रमुख आशीष घिमिरे, काठमाण्डाै महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, ललितपुर महानगरपालिका–२ का अध्यक्ष राजेश महर्जनलगायतको सक्रियता थियो ।

सफाइका अवसरमा नेपाल नदी संरक्षण संस्थाले थापाथली पुलबाट सुन्दरीघाटसम्म जलयात्रासमेत चलाएको थियो । संस्थाले वाग्मती सफा बनाउन उद्देश्यले दुई दशकअघिदेखि वाग्मतीमा जलयात्रा गराउँदै आएको अध्यक्ष मेघ आलेले बताउनुभयो ।

मुहानदेखि नै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले २९१ औँ हप्ताको सफाइ गोकर्णेश्वर महादेव मन्दिर परिसरमा गर्‍यो । शुक्रबार गोकर्णे औँशीका अवसरमा जम्मा भएका लाखौँ भक्तजनले गरेको फोहर व्यवस्थापन गर्न मन्दिर परिसरमै सफाइ गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो ।

कुहिने फोहरलाई गत वर्ष मन्दिर क्षेत्रमा राखिएको कम्पोष्ट विनमा राखिएको थियो । नकुहिने फोहर भने गोकर्णेश्वर नगरपालिकाको गाडीले व्यवस्थापन गरेको थियो । मन्दिरमा लागेको मेलामा साढे तीन लाखभन्दा बढी भक्तजनको भीड लागेकाले फोहर सफाइ गर्न कम्तीमा एक हप्ता लाग्ने मञ्चले जनाएको छ । गत वर्ष गोकर्णे औँशीको अवसरमा यो क्षेत्र सफा गर्न डेढ हप्ता लागेको थियो । यस वर्ष भक्तजनले विगत वर्षमा भन्दा कम फोहर गरेकाले एक हप्तामै सकिने जनाइएको छ ।

विष्णुमती सफाइको २५६औँ हप्तामा टोखा नगरपालिका वडा नं ९ र १० क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको संयोजक शोभाकान्त पाण्डेले राससलाई जानकारी दिनुभयो । वाग्मतीको सुन्दरीघाट खण्ड सफाइको १३९औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी १३४ जनाको सहभागितामा कार्यक्रम गरियो । सफाइबाट एक टन फोहर व्यवस्थापन गरिएको संयोजक चित्र सुनुवारले बताउनुभयो ।

मनोहरा नदी सफाइको १२८औँ हप्तामा बालकुमारी पुल क्षेत्रमा एक ट्रक फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्र दङ्गालले बताउनुभयो । सफाइमा जिल्ला समन्वय समिति काठमाण्डाैकी उपप्रमुख सरिता दाहालले नदीमा फोहर फाल्नेलाई स्थानीय सरकारले कडा कारवाहीको व्यवस्था गर्न लागेको सुनाउनुभयो ।

चक्रपथ सफाइ २०७१ ले आज वाफलबाट कलङ्की क्षेत्रमा १०८औँ हप्ताको सफाइ गरेको थियो । झरी परिरहेका बेलासमेत जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरिएको संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।

यसैगरी प्रत्येक हप्ताको आइतबार सफाइ हुँदै आएको ललितपुरको गोदावरी नदीको कार्यक्रम पनि अबदेखि शनिबार नै गरिएको संयोजक बेबी राजभण्डारी थापाले बताउनुभयो । २६औँ हप्ताको सफाइ महालक्ष्मी नगरपालिकाको वडा नं ६ र ८ बाट गोदावरी नगरपालिकाको वडा नं १४ सम्म गरिएको थियो ।

नेपाल प्रहरीसमेतको सक्रियतामा भएको सफाइबाट एक टन फोहर व्यवस्थापन गरिएको थियो । कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं ८ र ९ का अध्यक्ष क्रमशः विश्वराज श्रेष्ठ र वासु शर्माले नदी किनारमा नफाल्न आह्वान गर्नुभएको थियो ।

यसैगरी शनिबार चक्रपथको उत्तरखण्ड र आलोकनगरमा १२७औँ हप्ताको सफाइ गरिएको थियो । रुद्रमती, तिलगङ्गा र गुह्येश्वरी क्षेत्रको वाग्मतीमा पनि सफाइ अभियानलाई निरन्तरता दिइएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर