26.1 C
Kathmandu
 

निर्णायक खेलमा पराजित हुँदा नेपाल टी-२० विश्वकपको विश्व छनोटमा पुग्न असफल

१२ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय महिला टोली आईसीसी महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको एसियाली छनोटबाटै बाहिरिएको छ । एसियाली छनोटमा शतप्रतिशत जित निकालेको यूएई ग्लोबल क्वालिफयारमा पुग्यो ।  आइतबार भएको एसियाली छनोटको अन्तिम खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको हो । दुबईस्थित आईसीसी एकेडेमीमा यूएईले दिएको १२८ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि इन्दु वर्माले १५ रन बनाउँदा सीता रानामगरले १३ रनको योगदान गरिन् । नेपालका लागि त्यसबाहेकका ब्याटरले दोहोरो अकमा रन जोड्न सकेनन् । यूएईकी सामिरा धर्निधार्काले चार ओभर बलिङ गर्दै पाँच रन खर्चेर चार विकेट लिइन् । त्यस्तै, खुसी शर्मा र चामनी सेनेभिरातनले समान दुई/दुई विकेट लिए । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको यूएईले चामानी सेनेभिरातनको अर्धशतकको सहयोगमा नेपाललाई १२८ रनको लक्ष्य दिएको थियो ।

यूएईले २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । यूएईका लागि चामनीले ३६ बलमा सात चौकासहित ५२ रनको अर्धशतकीय पारी खेलिन् । त्यस्तै, थेर्था शतिसाले ४७ रनको योगदान गरिन् । ओपनर शतिसाले ४६ बल खेल्दै तीन चौकासमेत प्रहार गरिन् । काभिषा इगोडागेले २२ रन जोडिन् । बलिङतर्फ नेपालका लागि कविता कुँवरले चार ओभर बलिङ गर्दै २१ रन खर्चेर दुई विकेट लिइन् । त्यस्तै, सबनम राई, सीता रानामगर र संगीता राईले समान एक/एक विकेट लिए ।

६ टोली सहभागी प्रतियोगितामा यूएई शीर्ष स्थानमा रहँदै ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्‍यो । यूएईले पाँच खेलबाट १० अंक जोड्यो । पराजित नेपालले पाँच खेलबाट ६ अंकमा सीमित भयो । चार खेल खेलेको हङकङ समान ६ अंकका साथ तेस्रो स्थानमा छ । पाँच खेलबाट चार अंकसहित मलेसिया चौथो स्थानमा रहँदा दुई अंकको भुटान पाँचौँ र प्रतियोगितामा जितविहीन कुवेत पुछारमा छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर