काठमाण्डौ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानको मर्म अनुसार कानुन निर्माणको कामलाई तीव्रता दिइएको बताउनु भएको छ ।
अध्यक्ष तिमिल्सिनाले संविधानले कुनै पनि नागरिकलाई भेदभाव गर्न नहुने व्यवस्था गरेको उल्लेख गर्दै सबै नागरिक समृद्ध हुनेगरी समृद्धिको अभियानलाई अघि बढाउन पनि तीन ओटै तहका सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता नागरिकको अधिकारलाई संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै नागरिकको आधारभूत समस्या समाधान गर्दै अघि बढ्न पनि सरकारसँग आग्रह गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले मुलुकमा राजनीतिक स्थायित्व कायम भएकोले अब समृद्धिको अभियानलाई अघि बढाउन सहज भएको धारणा राख्नुभयो । मातृभूमि महिला समाजले बिहीबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा उहाँले समृद्धिको अभियानलाई अघि बढाउन नागरिकमाथि कुनै पनि प्रकारको विभेद हुन नदिन सरकारलाई सचेत गराउनु भयो ।
कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले संस्कतिविद् सत्यमोहन जोशीलाई पनि सम्मान गर्नुभएको थियो ।