21.1 C
Kathmandu
 

जबजको उत्तराधिकारी बन्न वामदेव र ईश्वरको प्रतिस्पर्धा

काठमाडौं । नेपाली आहान छ– हिङ नभए पनि हिङ बाँधेको टालो !  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतम र ईश्वर पोखरेलबीच यही ‘टालो’ बन्ने प्रतिस्पर्धा छ । नेकपाले राजनीतिक कार्यदिशाका रूपमा ‘जनताको जनवाद’ स्वीकार गरिसकेको छ । तर, यी दुई ‘हेभिवेट’ बीच २०४९ सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज)को उत्तराधिकारी बन्नेमा तीव्र होडबाजी देखिएको छ ।

साबिक एमालेमा दुई कार्यकाल महासचिव चलाएका पोखरेलले यसअघि नै आफूलाई जबजको उत्तराधिकारी घोषणा गरिसकेका थिए ।पोखरेलले एकीकृत पार्टीले अन्तरिम ‘राजनीतिक लाइन’का रूपमा अघि सारेको जनताको जनवादलाई ‘हाँसको चाल न कुखुराको चाल’को संज्ञा दिई पार्टीभित्र वैचारिक ध्रुवीकरणलाई निम्तो दिएका थिए । र, अहिले त्यही कित्तामा उभिन आइपुगेका छन् अर्का

प्रभावशाली नेता वामदेव गौतम ।

पोखरेल पार्टी एकतादेखि नै पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद हुनुपर्छ र यो नै नेपाली क्रान्तिको मौलिक ‘मार्क्सवाद’ हो भन्ने विचार व्यक्त गर्दै आइरहेका छन् । तर, वामदेवको तर्क अलि भिन्न थियो । एमाले र माओवादी केन्द्रबीच पार्टी एकतासमेतको सूत्राधार दाबी गर्ने वामदेवले ‘जबज’को राजनीतिक कार्यभार पूरा भइसकेकाले पार्टीको विचार समाजवाद हुनुपर्ने तर्क गर्दै आइरहेका थिए ।

अर्थात्, वामदेवको निष्कर्ष थियो– जनताको बहुदलीय जनवादले समाजवादको आधार निर्माण गर्न सक्दैन । समाजवादउन्मुख राज्यप्रणाली सञ्चालन गर्न अहिलेको आन्दोलनले अलग्गै नीति–कार्यक्रम र कार्यदिशाको माग गर्दछ ।

तर, साउन १९ गते नयाँ पत्रिका दैनिकमा आफ्नो धारणा सम्प्रेषित गर्दै नेता गौतमले आफ्नो यसअघिको विचारको खण्डन गरेका छन् । उनले भनेका छन्– “वास्तवमा जनताको बहुदलीय जनवादको सिद्धान्त अहिले र भविष्यसम्मका निम्ति पनि मार्गदर्शक सिद्धान्त बनाइएन भने अबको कम्युनिस्ट आन्दोलन सफल हुने सम्भावना छैन ।”

अर्थात– नेकपाले राजनीतिक कार्यदिशाका रूपमा जनताको बहुदलीय जनवाद अवलम्बन गरेन भने नेकपा सफल हुँदैन । मार्क्सवादका तीन अभिन्न अंग (द्वन्द्वात्मक भौतिकवाद, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद)मा जनताको बहुदलीय जनवादले थप योगदान गरेको र मार्क्सवाद लेनिनवाद थप समृद्ध भएको दलील पेश गर्दै गौतमले भनेका छन्, “द्वन्द्वात्मक भौतिकवादी दर्शनमा जनताको बहुदलीय जनवादले थपेको महत्वपूर्ण योगदान राज्यसत्तामा द्वन्द्ववादको प्रतिस्थापन हो । त्यसैगरी राजनीतिक अर्थशास्त्रमा जनताको बहुदलीय जनवादको थपेको योगदानको नाम हो क्रमिक आर्थिक विकास र त्यस्तै वैज्ञानिक समाजवादमा जनताको बहुदलीय जनवादले थपेको योगदानको नाम हो– बहुलवादी खुला समाज ।”

पार्टी एकताको १५ महिनापछि जबजको यो महिमामण्डनले वामदेवको विगतको तर्कको खण्डनमात्रै गर्दैन, उनको अभिव्यक्तिलाई ‘अस्थिरता’को परिचय पनि थमाउँछ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर