28.1 C
Kathmandu
 

भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधन

एजेन्सी, २२ साउन । भारतीय पुर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ । स्वराजको हृदयघातका कारण निधन भएको हो । सत्तारुढ भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेतृ समेत रहनुभएका स्वराजको ६७ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

स्वराजको दिल्लीको अल इण्डिया इन्ष्टिच्यूट अफ मेडिकल साइन्स अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । एक्कासी हृदयघात भएपछि उहाँलाई गएराति अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

टाइम्स अफ इण्डियाको अनलाइन संस्करणकाअनुसार उहाँलाई साँझ ९ः३० बजे तिर एक्कासि छातिमा असजिलो भएको र तत्कालै अल इण्डिया इन्ष्टिच्यूट अफ मेडिकल साइन्समा लगिएको थियो । चिकित्सकले करीब भारतीय समय ९ः ४५ बजे उहाँको निधन भएको घोषणा गरेका थिए ।

यसैबीच, भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नूभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीले गहिरो समवेदना व्यक्त गर्नुभएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा स्वराजले सन् २०१४ देखि २०१९ सम्म भारतको विदेशमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व संघीय मन्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय राजनीतिमा एउटा गौरवपूर्ण अध्यायको अन्त्य भएको बताउनुभएको छ । प्रधानमन्त्रीले ट्वीटरमार्फत लेखेको शोक सन्देशमा भनिएको छ, “भारतीय राजनीतिमा एउटा गौरबपूर्ण अध्यायको अन्त्य भएको छ । भारतले उहाँको सार्वजनिक सेवा र खासगरी गरीब भारतीयको जीवनलाई सही मार्ग दिनका लागि गरेको अद्भुत समर्पणका लागि भारतले उहाँलाई सधैँ सम्झिरहनेछ । उहाँ करौडौँ जनताका लागि प्रेरणाको श्रोत हुनुहुन्थ्यो ।”

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वराजकाे निधन प्रति दुख प्रकट गर्दै ट्वीटर मार्फत समवेदना  दिनु भएकाे छ ।

राससका अनुसार स्वराजको निधनको खबरपछि संघीय मन्त्रीहरू प्रल्हाद पटेल, राजनाथ सिंह, पियुष गोयल र नीतिश गोडकरीसहितका भाजपा नेताहरू तत्काल अस्पताल पुग्नुभएको थियो । भारतीय जनता पार्टीका वरिष्ठ नेता स्वराजले आज दिउसो संविधानको धारा ३७० खारेज गर्ने साहसिक कदमको स्वागत गर्दै उक्त कदमका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको थियो । “प्रधानमन्त्रीलाई धन्यवाद । धेरै धेरै धन्यवाद । म मेरो जीवनमा यो दिन हेर्न पर्खिराखेकी थिए ,” स्वराजले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गर्नुभएको छ ।

स्वराजले सन् २०१४ मा गठन भएको मोदी सरकारको पहिलो कार्यकालमा विदेश मन्त्री नियुक्त हुनुभएको थियो । उहाँले स्वास्थ्यको कारण देखाउँदै सन् २०१९ को निर्वाचनमा भने लोक सभाका लागि प्र्रतिस्पर्धाबाट बाहिर बस्ने इच्छा व्यक्त गरे अनुसार उहाँलाई भाजपाले उम्मेदवार बनाएको थिएन । विदेश मन्त्रीका रूपमा स्वर्गीय स्वराजले सफलताका साथ जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर