धनुषा – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संघीय सरकारलाई आवश्यक्ता महसुस नभएसम्म संविधान संशोधन नहुने स्पष्ट पार्नुभएको छ ।
मंगलबर जनकपुरस्थित नेपाल पत्रकार महासंघ धनुषाको कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उहाँले सत्तारुढ दल समाजवादी पार्टीसँग भएको संविधान संशोधनको बारेमा औचित्य पुष्टि भए मात्रै संविधान संशोधन हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारलाई जबसम्म संविधान संशोधनको आवश्यक्ता महसुस हुँदैन, तबसम्म संविधान संशोधन हुन सक्दैन ।’
अर्को प्रसंगमा उहाँले संघीय सरकार प्रदेश २ को विकासका लागि सबैभन्दा बढी लगानी गरेको दाबी गर्नुभयो । ‘प्रदेश २ मै नेपालको एकमात्र रेल्वे, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, कमला मरिन डाइभर्सन, मदन भण्डारी राजमार्ग, कोशी करिडोर, नारायणी करिडोरलगायतका गौरवका परियोजनाहरु सञ्चालनमा छ’, मन्त्री बाँस्कोटाले भन्नुभयो ।
उहाँले वर्तमान नेकपाको संघीय सरकार ५ वर्षसम्म परिवर्तन नहुने समेत ठोकुवा गर्नुभयो ।