23.1 C
Kathmandu
 

ह्वासिन सिमेन्टबारे छलफल गर्न बोलाइएको सार्वजनिक लेखा समितिको बैठक स्थगित

काठमाण्डौ – उद्योग सचिव यामकुमारी खतिवडा अनुपस्थित भएपछि ह्वासिन सिमेन्टबारे छलफल गर्न मंगलबार बोलाइएको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।

चिनियाँ लगानीमा निर्माणाधीन यो सिमेन्ट उद्योगबारे विस्तृत छलफल गर्न मंगलबार सिंहदरबारमा बोलाइएको बैठक उद्योग सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी अनुपस्थित भएका कारण स्थगित गरिएको हो ।

समितिले जानकारी समेत नदिई बैठकमा अनुपस्थित हुनु भएका उद्योग सचिव खतिवडासँग स्पष्टिकरण पनि लिने भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले तराईमा रहेका कारण आफू बैठकमा आउन नसकेको जानकारी समितिलाई दिए पनि सचिव खतिवडाले नदिएकाले उहाँमाथि स्पष्टिकरण सोध्ने निर्णय गरिएको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताउनु भयो ।

चिनियाँ लगानीमा धादिङको रोराङ गाउँपालिकामा निर्माणाधीन यो कम्पनी विवादमा तानिएपछि गठित समिति अन्तरगतको उपसमितिले तयार परेको प्रतिवेदनमा उठाइएका विषयबारे सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकारी अधिकारीसँग विस्तृत छलफल गर्ने कार्यसूची तय गरिएको थियो ।

सांसद लेखराज भट्ट नेतृत्वको उपसमितिले तयार पारेको प्रतिवेदनमा यो उद्योग स्थापनाका लागि ५० वर्ष जग्गा भाडामा लिने सम्झौता तत्काल रद्द गर्नुपर्ने सिफारिस गरिएको छ । त्यस सम्बन्धमा सरोकारवाला निकायसँग विस्तृत छलफल गरेपछि सरकारलाई आवश्यक निर्देशन दिने समितिको तयारी छ ।

सचिव पाण्डेले समितिको अर्को बैठकमा उद्योग सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई पुनः बोलाएर यस सम्बन्धमा विस्तृत छलफल गर्ने बताउनु भयो ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर