कञ्चनपुर – साेमबार रातिबाट परेको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढेर खतराको संकेत पार गरेको छ ।
कञ्चनपुर लगायत चुरे क्षेत्रमा भएको वर्षाले महाकाली नदीको सतह खतराको संकेत पार गरेको हो । महाकाली नदीमा पानीको बहाव १ लाख १३ हजार क्यूसेक पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ ।
नदीमा पानीको बहावले खतराको संकेत पार गरे पनि भारतले शारदा ब्यारेज (पुल) मा चारपांग्रे सवारीसाधानमा रोक लगाइएको छ । महाकाली नदीमा पानीको बहाव १ लाख क्युसेक नाघेपछि खतरा मान्ने गरिन्छ ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार वर्षाका कारण कञ्चनपुरका साना तथा ठूला नदीहरुमा पानीको सतह बढेको छ । साेमबार रातिबाट परेको वर्षापछि महेन्द्रनगर क्षेत्र डुबानमा परेको छ । वर्षाका कारण भिमदत्त नगरपालिकाको महेन्द्रनगर बजार, सुकुम्बासी टोल, बसपार्क क्षेत्र, ऐठपुर, भगतपुरको खोल्टी, जिमुवा क्षेत्रमा लगायतका क्षेत्र डुबानमा परेका छन् ।
भिमदत्त नगरपालिका-९ मा ८ वटा घरमा पानी पसेको प्रहरीले जनाएको छ । डुबानमा परेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाइएको छ ।