महोत्तरी – सशस्त्र प्रहरीको टोलीले १५ किलो चाँदीसहित महाेत्तरीबाट एक जनालाई पक्राउ गरेको छ ।
नेपाल–भारत सीमा नजिक पर्ने महोत्तरीको मटिहानी नाकामा खटिएको सशस्त्र प्रहरीको टोलीले चेक गर्ने क्रममा धनुषा मुसहरनियाँ–२ का ३२ वर्षीय वीरेन्द्र महतोलाई १५ किलो चाँदीसहित पक्राउ गरेको हो ।
सोमबार दिउँसो महतो सवार रहेको बी आर ३२ एल ०६८९ नम्बरको मोटरसाइकललाई चेक गर्ने क्रममा उनको हेलमेटभित्रबाट १५ किलो चाँदी बरामद भएको सशस्त्र प्रहरी महोत्तरीका गणपति निरकृष्ण अधिकारीले जानकारी दिनुभयो । बरामद भएको चाँदीको मूल्य १० लाख रुपैयाँभन्दा बढी रहेको गणपति अधिकारीले बताउनुभयो ।
महतोको साथबाट १५ किलो चाँदीसहित एक थान मोटरसाइकल, नेपालको एनसीसी बैंक र भारतको पञ्जाब नेसनल बैंकको एटीएम, भारतीय पहिचानपत्र र भारतीय सवारी लाइसेन्ससमेत बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका महतोलाई आवश्यक अनुसन्धानको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको छ ।