27.9 C
Kathmandu
 

काश्मिरमा भारत सरकार कडा, स्थानीय नेताहरु नजरबन्दमा

काश्मिर । भारतको जम्मू काश्मिरको राजधानी श्रीनगरमा सोमबार मध्य राति (गएराति) बाट घटनाक्रम तीव्र रुपमा अघि बढेको छ । नेशनल कंग्रेसका नेता उमर अब्दुल्ला, पीडीपी अध्यक्ष बहबुबा मुफ्ती र जम्मू काश्मिर पिपुल्स कन्फेरेन्सका अध्यक्ष सज्जाद लोनलाई प्रशासनले उनीहरुको घरमा नजरबन्द गरेको छ ।  श्रीनगरमा रहेका पत्रकार माजिद जहाँगिरले तीन नेतालाई नजरबन्द गरिएको  पुष्टि गरेको बीबीसीले जनाएको छ । उनले जनाएअनुसार श्रीनगरमा अहिले धारा १४४ लगाइएको छ जुन आदेश अर्को आदेश नभएसम्म जारी रहने छ ।

सो धारामा चारजना भन्दा बढी मानिस भेला हुन नपाउने व्यवस्था छ । त्यसो गरिएमा ३ वर्षसम्मको जेल सजाय समेत हुन सक्नेछ । यो आदेशअनुसार आवतजावत हुन सक्ने छैन भने सबै शैक्षिक संस्था पनि बन्द हुने छन् । यसैबीच श्रीनगर समेत पुरै काश्मिरमा मोबाइल तथा इन्टरनेट सेवा बन्द गरिएको छ ।यो भन्दा पहिला उमर अब्दुल्लाले ट्विट गर्दै आफू नजरबन्दमा पर्न सक्ने आशंका व्यक्त गरेका थिए ।  अब्दुल्लाले आफ्नो ट्विटमा भनेका थिए,“मलाई र अन्य नेताहरुलाई नजरबन्द गर्ने प्रक्रिया शुरु भएको छ । यसको वास्तविकता थाहा पाउने कुनैतरिका छैन ।”

उनको ट्विटको जवाफमा कंग्रेस नेता तथा पूर्वकेन्द्रीय मन्त्री शशी थरुरले उनीप्रति समर्थन गरेका छन् । थरुरले ट्विट गर्दै भनेका छन्,“उमर अब्दुल्ला तपाईँ एक्लै हुनुहुन्न । हरेक लोकतान्त्रिक भारतीय काश्मिरमा मूलधारका नेताका साथ खडा हुनेछन् । संसदको सत्र चलिरहेको बेलामा हाम्रो आवाजलाई रोक्न सकिने छैन ।”

पीडीपीका नेता मेहबुबा मुफ्तीले पनि ट्विट गर्दै काश्मिरका लागि एकजुट हुन आग्रह गरेकी छन् । उनले भनेकी छन्,“हालत मुश्किल छ । तर, कसैले पनि हाम्रो प्रतिवद्धता तोड्न सक्दैन ।” काश्मिरको अवस्थालाई लिएर अर्गनाइजेसन अफ इस्लामिक कन्ट्रिज (ओआइसी)ले पनि चिन्ता व्यक्त गरेको छ ।
ओआईसीले ट्विट गर्दै भनेको छ,“भारतीय कब्जामा रहेको काश्मिरको हालत खराब हुँदै गइरहेको छ । अतिरिक्त सुरक्षा बल तैनाथी गर्नुका साथै प्रतिबन्धित क्लस्टर बमको प्रयोगको खबरले चिन्तित बनाएको छ ।”

सर्वदलीय बैठक

संविधानको धारा ३५ एको अनुच्छेद ३७० समाप्त गरिएको अनुमान र त्यसबाट उत्पन्न आशंकाका बीच जम्मू काश्मिरमा मूलधारका राजनीतिक दलका नेताले श्रीनगरमा गएको बिहीबार साँझ छलफल गरी राज्यलाई प्राप्त विशेष दर्जा जोगाउने प्रतिवद्धता जनाएका थिए ।

समाचार एजेन्सीहरुले जनाएअनुसार काश्मिरी दलको सर्वदलीय बैठकपछि नेशनल कन्फेरेन्सका नेता तथा जम्मू काश्मिरका पूर्वमुख्यमन्त्री फारुक अब्दुल्लाले बैठकमा पारित प्रस्ताव पढ्दै भनेका थिए,“सर्वसम्मतिबाट यो तय भएको छ कि सबै दल जम्मू काश्मिर र लद्धाखको स्वायत्तताका लागि तथा विशेष दर्जा बचाउनको लागि एक जुट रहनेछन् ।”

प्रस्तावमा धारा ३५ ए उपधारा ३७० र अन्य कुनैपनि प्रकारको असंवैधानिक कारवाही जम्मू कश्मीर र लद्धाखका जनताप्रतिको आक्रामक रबैया मानिने जनाइएको छ । यो सर्वदलीय बैठकमा पीडीपीका अध्यक्ष महबुबा मुफती, पिपुल्स कांग्रेसका अध्यक्ष सज्जाद लोन र पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला तथा अन्य दलका नेतापनि सहभागी भएका थिए ।

सो बैठक यस्तो समयमा भएको थियो जतिबेला घाटी क्षेत्रमा कट्टरपन्थी हमलाको आशंकामा प्रशासनले सतर्कता अपनाएको थियो । यो कडाइले गर्दा  अमरनाथ यात्रामा रहेका तीर्थालु  तथा पर्यटकहरुपनि त्रसित भएका थिए । विभिन्न हल्ला फैलिएपछि स्थानीय बासिन्दाले जरुरी सामानको भण्डारण बढाउन दौडधूप गरेका थिए ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर