25.1 C
Kathmandu
 

नागको चित्र टाँसेर पूजा गरी मनाइँने नागपञ्चमी पर्व के हाे ?

काठमाडौं, २० साउन । नागपञ्चमी पर्व, घरघरमा तथा नागपोखरी र नाग थान हरुमा नागको पुजाअर्चना गरी मनाइन्छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन घरको मूलढोकामा नागको चित्र टाँसी पूजा गर्ने परम्परा छ ।

विभिन्न आठ प्रकारका नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाउनुका साथै आफ्ना कुल नागका थानमा विशेष पूजा गरी खीर, रोटी लगायतका प्रसाद चढाउने गरिन्छ । नागपञ्चमीको दिन घरको ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले बताउनुभयो । आज पशुपतिको वासुकी, नक्सालको नागपोखरी, टौदह, ललितपुरको धापाखेलमा रहेको नागदह लगायतका स्थानमा मेला लाग्ने गर्दछ ।

के हाे नागपञ्चमी ?

नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो। नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यो श्रद्धा र विश्वासको पर्व हो। नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ।

नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि टाँस्ने गरिन्छ। नागपञ्चमीको दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म , तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ। ज्योतिषशास्त्र-अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन। भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन।

नाग पञ्चमीमा व्रतको विधि
नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत लिने गरिन्छ। यस व्रतमा पूरै दिन व्रत बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद पकाई, त्यसलाई सर्व प्रथम नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी (भोग लगाई) प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ। व्रत अवधिभरि कुनै किसिमको भोजन गर्नुहुँदैन नै, र समाप्तिमा समेत नुन खानु वा चिल्लोचापिल्लो परिकारहरूको प्रयोग पनि वर्जित छ। साथै व्रतसँग सम्बन्धित सबै नियमको पालना गर्नुपर्दछ।

नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्प भए हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता रहेको छ। पश्चिम नेपालका अधिकांश जस्तै:- दैलेख, अछाम, कालिकोट, आदी जिल्लाहरूमा नाग पञ्चमीका दिन देखी हिउँद लाग्छ भन्ने भनाई रहेको छ। नेपालको सुदूर तथा मध्य पश्चिममा नाग पञ्चमीका दिन कागजमा नाग, बिछ्छी जस्ता बिषालु जिव जनावरहरूका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ। यसका साथै नाग पञ्चमी र श्रीपञ्चमीका दिनमा हलसारो गर्न दिन जुराउनु पर्दैन भन्ने धार्मीक मान्यता रहेकाले हलसारो (पहिलो पटक हलो जोताई) गरेर हिउँदे खेतीको तयारी थाल्ने चलन पनि रहेको छ भने बडिमालिका लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रदालुहरूले व्रत गर्ने, भूमी सयन गर्ने र ब्रह्मचार्य धारण गर्ने चलन रहेको छ। नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ। नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई आफ्नो घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ। गोबरको अभावमा गमको प्रयोग पनि गर्न सकिन्छ। त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डू अर्पण गरी पूजासमेत गरेर निम्नाङ्कित नाग स्तोत्रको पाठ गर्ने गरिन्छ :-

ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमा:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीतो मम सवर्दा।१।
इन्द्रलोकेषु ये सर्पा: वासुकी प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।२।
कद्रबेयाश्च ये सर्पा: मातृभक्ति परामा।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।३।
इन्द्रलोकेषु ये सर्पा: तक्षका प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।५।
सत्यलोकेषु ये सर्पा: वासुकिन च रक्षता।
नमोस्तुतेभ्य: सर्पा: सुप्रीता: मम सर्वदा।६।
मलये चैव ये सर्पा: कर्कोतक प्रमुखादय:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।७।
प्रार्थव्याचैव सर्पेभ्य: ये साकेत वासित।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।८।
सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।९।
ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१०।
समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिन:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।११।
रसातंलेषु ये सर्पा: अनन्तादि महाबला:।
नमोस्तुतेभ्य: सर्पेभ्य: सुप्रीता: मम सर्वदा।१२।
नागमन्त्र पाठ गर्न असम्भव भए ‘ॐ कुरुकुल्ये हुँ फट स्वाहा’ मन्त्रको ९००० पटक जाप गर्ने गरिन्छ।

नागगायत्रीको मन्त्र (ॐ ‍‍‍‍‍‍‍‍‍‍‍‍‍नव कुलाय विध्महे विषदंताय धीमहि तन्नो सर्पः प्रचोदयात्)को समेत एक माला (१०८ पटक) जप गर्ने गरिन्छ। यो नागमन्त्रको तीन माला जाप गर्दा नाग देवता प्रसन्न हुन्छन् भन्ने विश्वास छ। नागदेवतालाई श्रीखण्डको सुगंध विशेष प्रियकर हुन्छ। त्यसैले नागपूजामा श्रीखण्ड चंदनको प्रयोग गर्नु राम्रो मानिन्छ, त्यस्तै आजको दिनको पूजनमा सेतो कमलको प्रयोग गर्ने विधान छ। आज यी सम्पूर्ण कृत्य गर्न सक्दा ‘कालसर्प योग’ दोषको शान्ति पनि हुन्छ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर