डोटी – डोटीमा गोली लागेर एक जनाको ज्यान गएको छ । आदर्श गाउँपालिका – ५ तल्लो डाडावनमा जनावर धपाउन हानेको गोली लागेर एक जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता लालबहादुर धामीले दिनुभएको जानकारी अनुसार आदर्श गाउँपालिका– ५ का ५० वर्षीय जंगे भुलले हानेको गोली लागेर यही ठाउँका १९ वर्षीय तपेश लुहारको ज्यान गएको हो ।
शनिबार राति करिब पौने ११ बजेको समयमा सलामी डाडावनमा आएका जंगली जनावर धपाउन जंगे भुलले प्रहार गरेको भरुवा बन्दुकको गोली तपेश लुहारको टाउकोमा लागेको थियो ।
यसबारे थप अनुसन्धान गर्न प्रहरी निरीक्षक कर्ण बोहोरासहितको टोली घटनास्थलतर्फ गएको प्रहरी प्रवक्ता धामीले जानकारी दिनुभयो । गोली प्रहार गर्ने जंगे भुल र उनले प्रयोग गरेको बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।