काठमाडौं, १६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार सबै कुरामा असफल भएको आरोप लगाएका छन् । उनले भने,‘आफूले गरेका गलत कामको बारेमा जनस्तरबाटै विरोध भएपछि सरकार जनतासँग झुक्ने परिस्थिति बनेको छ । सरकार तमाम काममा असफल भएको छ ।’बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले सुरु–सुरुमा राष्ट्रियताको बारेमा ठूला–ठूला कुरा गर्ने गरेको र सत्तामा पुगेपछि लम्पसार पर्ने गरेको पनि आरोप लगाए । उनले भने,‘सुरुमा ओली सरकारले राष्ट्रियताको बारेमा ठूलो कुरा गर्यो, उहाँहरुले हाम्रै काँधमा राष्ट्रियता अडेकोजस्तो गर्नुभयो । तर, अहिले लम्पसार हुनुभयो । उहाँहरुको राष्ट्रियताको चर्को नारा भनेको त सत्तामा जाने भ¥याङमात्रै हो ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै सरकारले जनतासामू झुठो आश्वासनमात्रै दिएको तर बोलेका कुरा पूरा नगरेको आरोप लगाए । उनले भने,‘सरकारले सुशासन, रोजगारी, समृद्धिलगायतका कुरामा खोस्रा कुरा गरेको छ ।’ कांग्रेसले अर्को निर्वाचनमा एक्लै बहुमत ल्याउनेगरि जित्नेपनि उनको दाबी छ । उनले भने,‘हामी अब जनताको पीर, मर्कालाई आत्मसात् गर्दै अघि बढ्छौं ।’ पार्टीले अब संसद र सडक दुवै ठाउँमा आफ्नो गतिशिलतालाई तिव्रता दिने र जनताका आवाज उठाउने महतको भनाई छ ।