स्पेनिस क्लब रियल मड्रिड यतिबेला प्रि–सिजन टुरमा छ । रियल मंगलबार भएको औडी कपको सेमिफाइनल खेलमा टोटेनहमसँग १–० ले पराजित भयो ।
प्रि–सिजनको खेलमा नै एट्लेटिको मड्रिडसँग ७–३ गोल अन्तरले पराजित भएको रियल पुनः टोटेनहमसँग पराजित भएको हो । मंगलबारको हारपछि बोल्दै रियलका प्रशिक्षक जिनेदिन जिदानले केही खेलमा पराजित भएपनि टिम उत्कृष्ट भएको बताएका छन् ।“आज हामी उत्कृष्ट छौँ, हामी अझै उत्कृष्ट हुने प्रयास गर्नेछौँ । हामी पराजित भएपछि खुशी हुन सक्दैनौँ तर हामी सबै कुरामा उत्कृष्ट हनु प्रयास गर्नेछौं, जुन कुरामा हामी सकरात्मक छौँ,” जिदानले भने ।रियलमा रहेर सबै खाले प्रतियोगिता जिताएका उनले २०१८ को सिजन रियललाई च्याम्पियन्स लिग जिताउँदै क्लबको प्रशिक्षकबाट राजीनामा दिएका थिए । उनी पुनः २०१८–१९ को सिजनको अन्त्यतिर क्लबमा आएका थिए । “मलाई थाहा छैन के गर्दा राम्रो हुनेछ, हामी यहाँ छौ, प्रशिक्षण गरिरहेका छौ र म त्यसैको बारेमा सोचिरहेको छु,” जिदानले थपे, “हामी यहाँ छौँ । हामी सबै छौँ । हामी हाम्रो टिममा काम गरिरहेका छौँ र मेरा खेलाडीमा आत्मविश्वास छ । यो सत्य हो कि खेल झन्पछि झन् बिगँ्रदै गएको छ । खेल हार्नु राम्रो होइन तर हामीले हाम्रो आत्मविश्वास घटाउने छैनौँ । हामीलाई थाहा छ यो वर्षमा हामीले राम्रो प्रदर्शन गर्नेछौँ ।”