१४ साउन । अति व्यस्त रहने पूर्वपश्चिम राजमार्गमा असङ्ख्य खाल्डाखुल्डी बढ्दै गएसँगै सडक दुर्घटनाको जोखिम बढेको छ । वर्षा र बाढीले राजमार्गको कालोपत्र भागमा खाल्डाखुल्डी बढाएसँगै दर्जनौँ ठाउँमा छेउ कटान गरेपछि दुर्घटना जोखिम बढेको हो ।
पूर्वपश्चिम राजमार्गको महोत्तरीमा पर्ने १६ किलोमिटर दूरीमा २० ठाउँभन्दा बढी बाढीले छेउ ढालेको र कालोपत्र भागमा पाइलैपिच्छे जसो खाल्डाखुल्डी बनाएको छ । राजमार्गमा सवारी चलाउन खाल्डाखुल्डी र छेउ कटानले समस्या बढेको चालक बताउँछन् ।
राजमार्ग मर्मतसम्भार गर्नेबेला गुणस्तरीय काम नगरिँदा र खाल्डाखुल्डी देखिनासाथै पुर्न नथालिँदा अहिले बग्रेल्ती खाल्डाखुल्डी बढेको बर्दिवासबाट सर्लाहीको लालबन्दीसम्म म्याजिक ९सवारी साधन० चलाउने सोमन साशङ्करले बताउनुभयो ।
जिल्ला ट्रफिक प्रहरी कार्यालय महोत्तरी बर्दिवासले पनि खाल्डाखुल्डी बढेसँगै दुर्घटना जोखिम बढेको जनाएको छ । गत आर्थिक वर्ष २०७५÷७६ मा भएका १२१ सडक दुर्घटनामध्ये ७० प्रतिशत पूर्वपश्चिम राजमार्गमै भएको प्रहरी निरीक्षक प्रकाशबहादुर सिंहले जानकारी दिनुभयो । जारी साउनको दुई साता नहुँदै साना–ठूला गरी अहिलेसम्म १५ सवारी दुर्घटना सो राजमार्ग क्षेत्रमा भइसकेका छन् ।
राजमार्गको खाल्डाखुल्डी महोत्तरीमा मात्र नभएर धनुषाको ढल्केबरदेखि बाराको पथलैयासम्म नै रहेको जनकपुर–वीरगञ्ज रुटका बसचालक बताउँछन् । यद्यपि अहिले बाग्मती पारि ९बाग्मती पश्चिम० रौतहटदेखि बारासम्म मर्मतसम्भारका काम थालिएका छन् । ढल्केबरदेखि बागमतीसम्म भने अझै काम नथालिँदा जोखिम मोलेरै सवारी चलाउनुपरेको बस यातायात व्यवसायी र चालकको भनाइ छ । यसैबीच सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरले अब वर्षा थामिएकाले राजमार्ग मर्मतसम्भारको काम थालिने जनाएको छ । रासस