8.4 C
Kathmandu
 

पलेर्मो प्रोटोकलसम्बन्धी अन्तरक्रिया

काठमाडौँ । मानव बेचविखन तथा ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा महिला कानून र विकास मञ्च (एफडब्लुएल्डी) पलेर्मो प्रोटोकलसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

अन्तरदेशीय संगठित अपराधविरूद्धको संयुक्त राष्ट्र संघीय महासन्धी (पलेर्मो प्रोटोकल)को मानव विशेषगरी महिला तथा बालबालिकाहरूको बेचविखनलाई रोक्ने, दबाउने र सजाय गर्ने परिपूरक उपलेख २००० कार्यान्वयनका लागि गर्नुपर्ने कार्यका बारेमा सोमबार अन्तरक्रिया गरेको हो ।

हाल नेपाल पनि अन्तर्देशीय संगठित अपराधविरूद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिमा हस्ताक्षर गरिसकेकाले सदस्य राष्ट्र भएको र अब यस्ता संगठित अपराध रोकिने प्रधानमन्त्री कार्यालयका सहसचिव कौशल चन्द्र सुवेदीले बताए ।

कार्यक्रममा दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो । अन्तरदेशीय संगठित अपराध कसरी हुन्छ ? विशेषतः महिला र बालबालिका यसको सिकार कसरी हुन्छन् ? तिनको कानुनी व्यवस्था र निराकरणका बारेमा कार्यक्रम केन्द्रित रहेको थियो ।

हाल आएर मानव अंग वेचविखनका साथै श्रमशोषणमा पनि अन्तर्राष्ट्रिय अपराध बढेको भन्दै यसको निराकरणका निम्ति पलेर्मो प्रोटोकल उपयोग हुने धारणा महिला कानून र विकासमञ्च कार्यकारी निर्देशक सविन श्रेष्ठले राखे । साथै उनले भने – ‘सन् २००० को संयुक्त राष्ट्रसंघीय मानव बेचबिखनसम्बन्धी सन्धिमा नेपाललाई हस्ताक्षर गर्न सिफारिस गरिएको छ र यसो गरेमा नेपालले मानव बेचबिखनविरुद्धको आफ्नो प्रतिबद्धतासम्बन्धी बलियो सन्देश प्रवाह गर्नेछ, पलेर्मो प्रोटोकल समेत भनिने उक्त राष्ट्रसंघीय सन्धिलाई विश्‍वका १ सय ७३ मुलुकले अनुमोदन गरिसकेका छन् ।’

यसैगरी यस सम्बन्धी कानूनी प्रावधानबारे अधिवक्ता रोसना प्रधानले प्रकाश पारिन् । उनले भनिन् – ‘न्यूनतम मापदण्डको पूर्ण पालना भइनसकेको तर उक्त मापदण्डको पालनातर्फ उल्लेखनीय प्रयत्न गरेको मुलुकका रुपमा नेपाललाई मूल्यांकन गरिएको छ ।’ महिला कानून र विकास मञ्चले कार्यक्रम संयाेजन गरेकाे हाे ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर