12.1 C
Kathmandu
 

कन्ट्रक्सनको लापरबाहीले बागमती करिडोरको काम अलपत्र

बागमती सभ्यता एकीकृत विकास परियोजना अन्तर्गत पछिल्लो समय करिडोर बनाउने जिम्मा पाएको कालिका कन्ट्रक्सनको लापरबाहीले करिडोरको काम अलपत्र भएपछि सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

बागमतीलाई पुरानै बहावको स्थितिमा फर्काउने र हराभरा बनाउने लक्ष्यसहित सुरु भएको ‘बागमती ब्यूटिफिकेसन आयोजना’ अन्तर्गतको ठेक्कामा हालिमुहाली गरिरहेको कालिका कन्ट्रक्सनका कारण वर्षातको समयमा नदी आसपासको बस्ती डुबानमा पर्दै आएका छन् ।

सन् २०१७ मा २७ महिनाको समयसीमा राखेर कालिकालाई करिब १ अर्ब ९२ करोड लागतमा ब्यूटिफिकेसनको ठेक्का दिइएको थियो । तर, कहिले बन्द त कहिले निर्माण सामाग्री अभाव अनि कहिले मुआव्जा विवादलाई कारण देखाउँदै ठेक्काको म्याद सकिँदा समेत परियोजाना अन्तर्गतको काम सम्पन्न हुन सकेको छैन ।

आयोजना प्रमुख आशिष घिमिरेले ब्युटिफेकशनको काम ८० प्रतिशत सकिएको दावी गरे । उनले बाँकी काम अघि बढाउन मूअब्जा विवादले नसकिएको भन्दै आयोजनाले स्थानीयले मागेको मूअब्जा रकम दिनै नसक्ने बताए ।

‘गोकर्णदेखि गुजेश्वरीसम्मको काम रोकिएको छ । त्यहाँ झण्डै सात किलोमटिर पर्छ । १८८ रोपनी जग्गाको मूअब्जा मागिएको छ । त्यो आयोजना एक्लैले दिन सक्दैन’, प्रमुख घिमिरेले भने । उनले तालुकदार मन्त्रालयलाई यसको जानकारी गराइसकेको र स्थानीयसँगको पटकपटक छलफलमा पनि सहमति नजुटेको बताए । उनले के गर्ने भन्नेमा मन्त्रालयबाट समेत कुनै जवाफ नपाएको जिकिर गरे । आयोजनाको काम गत बैशाखबाट रोकिएको उनले जानकारी दिए । आयोजना प्रमुख घिमिरेले यस्तो दावी गरेपनि स्थानीयबासिन्दा भने घिमिरेको भनाईप्रति सहमत छैनन् ।

गोकर्णका स्थानीय बासिन्दा मनोहर विश्वकर्मा भन्छन्, ‘ठेकेदार आफैले स्थानीय उचालेर काम रोकेका छन् । काम रोकेर स्थानीयलाई दोष थुपारिएको छ । यो भ्रष्टाचार गर्ने नियत हो भन्ने सजिलै बुझ्न सकिन्छ ।’ विश्वकर्माका अनुसार ठेकेदारलाई बागमती सभ्यता एकीकृत विकास परियोजनाले कमिसनको लोभमा संरक्षण गरिरहेको छ ।

आयोजनाले आर्थिक प्रलोभनमा पारेर म्याद थप्दै बागमती ब्यूटिफिकेसनका नाममा ठूलो रकमको अपचलन गर्न खोजेको बागमती सफाई अभियन्ताहरुको आरोप छ ।

पछिल्लो समय व्युटिफिकेशनको ठेक्का पाएका पूर्वमन्त्री समेत रहेका कालिका कन्ट्रक्सनका सञ्चालक बिक्रम पाण्डेले मुअब्जा माग्दै स्थानीयले काममा अवरोध गरेको बाहानामा काम रोकेका छन् ।

दुईवर्ष अघि बाग्मती नदीलाई पुरानै शैलीमा फर्काउने र हराभरा बनाउने उद्देश्यसहित निर्माण कार्य थालिएको बाग्मती करिडोर निर्माणको कामले गति नलिएकोबारे परियोजना प्रमुखले समेत आफूले केही गर्न नसक्ने बताएर पन्छिनुलाई रहस्यमय मानिएको छ ।

गोकर्ण ब्यारेजदेखि जोरपाटी पुलसम्म नदीको चौडाई ३५ मिटर, त्यहाँदेखि गुह्येश्वरीसम्म ४० मिटर र गुहेश्वरीदेखि सिनामङ्गलसम्मको क्षेत्रमा करिव ३० मिटर चौडाई बनाएर पानीको बहाब प्रतिसेकेन्ड साढे ४ सय बनाउने र दायाँबाया हरित उद्यान निर्माण गर्ने योजनासहित बाग्मती ब्यूटिफिकेसनको काम थालिएको हो ।

बागमती मुहानदेखि चोभारसम्मको बाग्मती किनार दुबैतर्फ व्युटिफिकेसनको काम गर्नुपर्ने छ । जसको समय सीमा सकिएपनि पैसा र कमिसन बाँडेर आयोजनाका कर्मचारीलाई हातमा लिई पटक–पटक म्याद थप्ने र अझै पनि काममा ढिला सुस्ती गरेर समयसिमा लम्ब्याउने खेल भैरहँदा उक्त आयोजनाको भविश्य नै संकटमा परेको छ ।

यो खेलमा गोकर्णदेखी सिनामंगल पुलसम्मको ठेक्का लिएको कालिका कन्ट्रक्सन सबैभन्दा बढि जिम्मेवार रहेको बताइएको छ । कालिका कन्ट्रक्सनले हात हालेका पानी तथा खोलासँग सम्बन्धित बिगतका आयोजनामा पनि समस्या नदेखिएको भने होइन । बहुचर्चित राष्ट्रिय गौरवको योजना सिक्टा सिचाई आयोजना होस् वा बीरगंज र विराटनगरमा ढलको काम नै किन नहोस् यी सबै ठेक्कमा कालिकाले बदमासी गरेको सार्वजनिक भैसकेको छ ।

आर्थिक प्रलोभन र राजनीतिक शक्तिका आडमा ठेक्का हात पार्ने गरेको कालिकाले अधिकांश ठेक्का लथालिङ्ग छाड्दा पनि ठेक्का प्रक्रियामा सहभागिता पाइरहनुलाई भने रहस्यमय मानिएको छ । सरकारी पैसा पेश्की लिएर काम नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गर्ने र कालो सूचीमा राख्ने प्रावधान भएपनि पटक—पटक काम बिगार्ने कालिकालाई प्रोत्साहन कसले गरिरहेको छ भन्ने प्रश्न समेत उव्जिएको छ ।

२०२१ सालको नापी अनुसार बाग्मती नदी नागबेली शैलीमा १५ मिटरको क्षेत्रमा थियो । तर पछि यसको क्षेत्रलाई सिधा बनाएर ४० मिटरको क्षेत्रमा वारपार रहनेगरी करिडोर निर्माण कार्य थालिएको थियो । यो अभियानले गति नलिएकोबारे बागमती सफाई अभियन्ता र काठमाडौंबासीले पटक—पटक चासो राख्दा पनि सुनुवाई नभएको गुनासो बढ्दै गएको छ ।

यसैबीच विभिन्न बहानामा बागमतीको काम रोकिएको भन्दै दातृ निकायसमेत असन्तुष्टि जनाउन थालेपछि यसको भविष्य नै संकटमा पर्ने हो कि भन्ने चिन्ता थपिएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर