काठमाडौँ, १० साउन । आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गत नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो । नेपाल अङ्क तालिकाको चौथो स्थानमा छ । हिजो भएको खेलमा कुवेतले कतारलाई १० रनले पराजित गर्दै विजयी भएको छ । नेपालले आफ्नो तेस्रो खेल आज
कुवेतसँग खेल्नेछ ।
सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९७ रनको योगफल बनायो । कुवेतका लागि अदनान आर्डिसले ५६ रनको उत्कृष्ट इनिङ खेले भने मिट भावसारले ३५ तथा उस्मान वहीदले २८ रनको योगदान दिए । बलिङतर्फ कतारका लागि तमोर सज्जाद र इकवाल हुसेनले समान दुई÷दुई विकेट लिए ।
जीतका लागि १९८ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रेको कतार निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८७ रनमा समेटियो । कतारका लागि तमोर शज्जादले सर्वाधिक ४६ रनको योगदान दिए भने नोमान शनवारले ३४, इनाम उक हलले २८ तथा फैसल जाभेदले २५ रन जोडे ।
कुवेतका शिराज खान र जनदु हमौदले दुई/दुई विकेट झारे । यस हारसँगै तीन खेल खेलेको कतार एक खेलमा जीत तथा दुई खेलमा हार बेहोर्दै दुई अङ्क जोडेको छ । अङ्क तालिकाको अन्तिम स्थानमा रहेको कतार प्रतियोगिताबाट लगभग बाहिरिएको छ । त्यस्तै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना भने कायमै रहेको छ । यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको छ ।
प्रतियोगितामा नेपालसहित मलेसिया, कतार, आयोजक सिङ्गापुर र कुवेत सहभागी छन् । उक्त प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउनेछन् । जारी प्रतियोगितामा आयोजक सिङ्गापुरले तीन अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ भने समान तीन अङ्क नै जोडेको कुवेत नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ । त्यस्तै दुई अङ्क बटुलेको मलेसिया नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ ।