९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ तर कानुनी रूपमा फुटिसकेको भने छैन। प्रचण्ड–नेपाल समूहले गत पुस १४ गते पनि यस्तै प्रकृतिको विरोध प्रदर्शनको आयोजना गरेकाे थियाे । त्यसपछि भने आन्दोलन शिथिल बनेको टिप्पणी भएपछि प्रचण्ड र माधवकुमार नेपाल समूहले उपत्यकाकेन्द्रित ठूलो सभाको तयारी गरेकाे हाे ।
आजको प्रदर्शनमा वागमती प्रदेशका विभिन्न जिल्लाबाट करिब एक लाख मानिस काठमाडौं उतार्ने तयारी गरेको केन्द्रीय सङ्घर्ष समितिले जानकारी दिएको छ । काठमाडौंमा विभिन्न ९ स्थानबाट जुलुस निकाल्ने र पुरानो बसपार्क अगाडि सभामा परिणत हुने सङ्घर्ष समितिले तयारी गरेको छ । विभिन्न ठाउँबाट निस्कने जुलुसको नेतृत्वका लागि नेकपा (प्रचण्ड–नेपाल समूह)ले स्थायी कमिटी सदस्यहरूलाई जिम्वेवारीसमेत तोकेको छ ।
स्थायी कमिटी सदस्य सहितका नेताहरूको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज,शान्तिवाटिका, वाल्मिकि क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने उनको भनाइ छ। त्यसैगरी, उपत्यकाका विभिन्न ठाउँबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भई मुख्य जुलुसमा परिणत हुने उनले बताए। मुख्य जुलुस पार्टी अध्यक्षद्धय प्रचण्ड र नेपालको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतली सडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने उनले जानकारी दिए। विरोध प्रदर्शनमा सहभागी हुन नेकपाका प्रचण्ड-नेपाल पक्षका कार्यकर्ता काठमाडौं आएका छन्। काठमाडौं उपत्यका नजिक रहेका जिल्लाका कार्यकर्ता प्रदर्शनका लागि आएका छन्।