८ माघ, काठमाडौं । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज काठमाडौं आएको छ । भारतले अनुदान स्वरुप दिएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । एयर इन्डियाको विमानमार्फत बिहान साढे ११ बजे उक्त खोप त्रिभुवन विमानस्थलमा आइपुगेको हो। केहीबेरमा भारतीय दूतावासले त्रिभुवन विमानस्थलमा खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने भएका छन्। अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप भारतमा सेरम इन्स्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको हो। तिनै खोप भारतले नेपाललाई दिन लागेको हो। बुधबार खोप दिने घोषणा गरेको थियो। भारतले दिन १० लाख खोप करिब चार लाखलाई लगाइनेछ । अबको १० देखि १५ दिनभित्र खोप लगाइनेछ। पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सामाजिक कार्यकर्तालाई लगाइनेछ।