19.1 C
Kathmandu
 

दक्षिण कोरियाका नेपालीलाई कोरोनाविरुद्धको खोप निःशुल्क

७ माघ, काठमाडौं । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्क रूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताएका हुन् ।

यसअघि, आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताए पनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो । यससँगै यहाँ रहेका ५० हजारभन्दा बढी नेपालीले पनि उक्त खोप निःशुल्क प्राप्त गर्न सक्नेछन् । आगामी महिनादेखि सञ्चालन गर्ने भनिएको उक्त खोपको पहिलो प्राथमिकतामा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी, स्वयंसेवक पर्नेछन् । त्यसपछि प्राथमिकताअनुसार वृद्ध, बालबालिका, अशक्त, अपांगता भएका व्यक्ति हुँदै सबैलाई वितरण गरिनेछ ।

यद्यपि, अवैधानिक तवरले बस्ने तथा स्वास्थ बिमा नभएका विदेशी नागरिकलाई भने उक्त खोप निःशुल्क दिने वा नदिने भन्नेबारेमा भने कोरिया सरकार मौन छ । कोरियामा अवैधानिक तवरले बस्नेहरूको संख्या पनि ठूलै हुनसक्ने अनुमान छ । दक्षिण कोरियामा पछिल्लो समय कोरोनाको नयाँ प्रजाति पनि पुष्टि हुनुका साथै संक्रमण तीव्ररुपले फैलिएको छ । केही सातादेखि दैनिक एक हजारभन्दा बढी नयाँ संक्रमित थपिने क्रम देखिएको थियो । तर, यो साता भने दैनिक संक्रमितको संख्या ४०० भन्दा तल झरेको छ । सरकारले संक्रमण थप फैलिन नदिन सामाजिक दूरी कायम राख्दै सार्वजनिक स्थलमा चारजनाभन्दा धेरै भेला हुन बन्देज गरेको छ । रासस

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर