१ माघ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आज भारत भ्रमणमा जाने भएका छन् । नेपाल–भारतको संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली भारत भ्रमणमा जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले माघ १ देखि ३ गतेसम्म भारतको भ्रमण गर्नेछन् । संयुक्त आयोगको बैठकले नेपाल–भारतको द्विपक्षीय हित प्रवर्द्धन तथा व्यापार, पारवहन, ऊर्जा, सीमा, कोभिड–१९ मा आपसी सहयोग–समन्वय, पूर्वाधार विकास, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति आदि विषयमा छलफल गर्ने मन्त्रालयले बताएको छ ।
भ्रमणका क्रममा मन्त्री ज्ञवालीले भारतका विभिन्न विशिष्ट व्यक्तिहरूसँग भेटघाटको कार्यक्रमसमेत तय भएको मन्त्रालयको भनाइ छ । नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपालका राजदूत, विदेश सचिव, स्वास्थ्य सचिव र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू रहनेछन् । मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्कनेछन् ।