तानसेन – पाल्पाको रैनादवी छहरा गाउँपालिकामा एक महिलाको जीवनमा चमत्कारिक घटना भयो । रैनादवी छहरा गाउँपालिका–१ सिद्धेश्वरकी ३७ वर्षीया नर्मदा ज्ञवाली कालीगण्डकीको रिडीस्थित आर्यघाटबाटै ब्युँतिएपछि ‘मलामी’ समेत दंग भए । ज्ञवालीको अन्तिम अवस्था ठानेर परिवारका सदस्य र आफन्तले कालीगण्डकीको रिडी घाटमा अर्घ्यजलका लागि पुर्याएका थिए । अर्घ्यजल घाटमा राखी आफन्तले अन्य तयारी गरिरहँदा मृत्यु भएकी भनिएकी ज्ञवाली चलवलाएपछि गुल्मीको रिडी प्राथमिक उपचार केन्द्रमा पुर्याइएकाे छ ।
उपचार केन्द्रमा चेकजाँचको क्रममा नर्मदाको नाडी र मुटुको धड्कन चलेपछि थप उपचारको लागि परिवार तथा आफन्तले तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याए । अहिले उनको आईसीयू भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । साथै ज्ञवालीको अवस्थामा सुधार आएको, नाडी र मुटुले काम गरेको, अक्सिजन पुगेको, शरीरबाट व्याक्टेरिया झिक्ने काम भइरहेको आफन्त रामप्रसाद ज्ञवालीले बताए ।
कसरी भयो घटना ?
असार २५ गते गाउँमा झाडापखाल प्रकोप फैलिएसँगै नर्मदा पनि बिरामी भएपछि उपचारको लागि मिशन अस्पताल तानसेनमा भर्ना भएकी थिइन् । अस्पतालमा उपचारको क्रममा झाडा पखालासँगै नर्मदालाई निमोनिया, तथा फोक्सोमा संक्रमण भएको पाइयो । उपचारको क्रममा शरीरभरी व्याक्टेरिया फैलियो र अवस्था हरेक दिन नाजुक हुँदै गयो । विरामीलाई मिर्गौलामा समस्या देखिएको भनियो । विरामीको अवस्था गम्भीर रहेको भन्दै मिर्गौलाको उपचार यहाँ नहुने जानकारी अस्पतालले परिवारलाई दियो ।
विरामी ज्ञवालीका आफन्तले भने विरामीलाई निको नहुने, अक्सिजन दिँदासम्म मात्र बाँच्ने भनेपछि डिस्चार्ज मागेर मिशनकै एम्बुलेन्समा विरामी राखेर सिद्देश्वर पुर्याए । श्रीमान सूर्य ज्ञवाली सहित आफन्तकै सल्लाहमा उनलाई नबाँच्ने भन्दै घाट लैजाने भनी एकचौटी रिडी घाटमा पुर्याइएकाे थियो । झाडापखालको विरामीको रुपमा भर्ना भएकी नर्मदाको उपचारका क्रममा अन्य रोग समेत भेटिएपछि अन्तिम अवस्थामा पुगेकाे उनका आफन्त बताउँछन् ।
साउन ६ गतेसम्म आइपुग्दा उनको मिर्गौला डाइलासिस गर्नुपर्ने आपतकालिन अवस्था आएकोले परिवारलाई जानकारी गराएको अस्पतालका प्रशासन प्रमुख जीवन भट्टराई बताउँछन् । प्रशासन प्रमुख भट्टराईका अनुसार अस्पतालले डिस्चार्ज नदिए पनि आफन्तले जबर्जस्ती लगेका थिए । अहिले भने उनकाे उपचार खर्च गाउँपालिकाले गरिदिने बताएकाे छ ।