२३ पुस, काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी कारावाओ कप (इएफएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । आफ्नो बलियो प्रतिद्धन्दी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गर्दै सिटी फाइन प्रवेश गरेको छ ।
युनाइटेडको घरेलु मैदानमा सिटीलाई जित दिलाउन जोन स्टोन्स र फर्नान्डिन्होले एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटीले दुबै गोल दोस्रो हाफमा गर्न सफल भएको थियो । ५० औं मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ८३ औं मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीलाई २–० को जित दिलाए । अब सिटीले उपाधिका लागि टोटेनहमसँग खेल्नेछ ।