8.4 C
Kathmandu
 

आउँदाे ३ वर्षभित्र काठमाण्डाैमा मोनोरेल सञ्चालनमा आउने

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले आउँदाे ३ वर्षभित्र मोनोरेल सञ्चालनमा ल्याइसक्ने कार्ययोजना तय गरेको छ ।

काठमाण्डौ महानगरपालिकाले पारित गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वर्षभित्र मोनोरेलको उचित व्यवस्था गरी सञ्चालनमा ल्याउने उल्लेख गरिएको हो ।

काठमाण्डाै महानगरपालिकाको नगरसभाले हालै पारित गरेको ‘आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम’ बारे जानकारी दिन आइतबार काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले फोहोरमैला व्यवस्थापन, बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, बालाजु बाइसधाराको स्तरोन्नति, महानगर क्षेत्र भई बग्ने नदी सम्पदाहरुको सुदृढीकरण, पर्यटन पदमार्गको पनि उचित व्यवस्थापन गर्ने कार्यक्रम तय गरिएको बताउनु भयो ।

त्यसैगरी काठमाण्डौ महानगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि विश्व सम्पदा सूचीमा रहेका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रलाई पर्यटकीय हवको रुपमा विकास गर्न विशेष कार्यको थालनी पनि चालु आर्थिक वर्षबाट सुरु गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रवक्ता डंगोलले प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तारका लागि आउँदाे २ वर्षभित्र प्राविधिक विद्यालय सञ्चालन गर्ने योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको बताउनु भयो । ज्येष्ठ नागरिकहरुलाई उपचारको उचित व्यवस्था गर्न प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर ‘महानगर ज्येष्ठ नागरिक अस्पताल’ पनि सञ्चालनमा ल्याउने महानगरपालिकाको योजना छ ।

त्यसका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको प्रवक्ता डंगोलले बताउनु भयो ।

महानगरपालिकाले सार्वजनिक जग्गाको अतिक्रमण नियन्त्रण गरी त्यसमा बाल मैत्री उद्यान, योगापार्क तथा ज्येष्ठ नागरिक मैत्री पार्कहरु र खुला क्षेत्रहरुको विकास गर्ने योजना पनि नीति तथा कार्यक्रममा समेटेको छ । त्यसैगरी सहरको मुख्यमुख्य चोकहरुमा ‘मेयर उज्यालो कार्यक्रम’ अन्तरगत हाइमास बत्ती जडान गर्ने कार्यक्रम पनि चालु आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने तय गरिएको पनि प्रवक्ता डंगोलले बताउनु भयो ।

यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि ‘भर्टिकल पार्किङ’ र ‘अण्डरग्राउन्ड पार्किङ’ को अवधारणा तय गरी कार्यान्वयनमा ल्याउन थालिएको छ । प्रवक्ता डंगोलका अनुसार त्यसका लागि पनि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

काठमाण्डौको प्रदूषण नियन्त्रणका लागि साइकल लेनको व्यवस्था गर्ने, भेहिकल सफाइ केन्द्रहरुको स्थापना गर्ने पनि महानगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

प्रदूषण नियन्त्रणका लागि हरियाली प्रवर्द्धनको कामलाई पनि नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिइएको पनि काठमाण्डौ महानगरपालिकाले जनाएको छ । यी सबै कामका लागि लागि महानगरपालिकाले १५ अर्ब ५० करोड ७० लाख १२ हजार बजेटको पनि व्यवस्था गरेको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर