काठमाडौँ । नेपाल भ्रमण सकेर चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु बुधबार बिहान स्वदेश फर्केका छन्।आज बिहान हिमालय एयरलाइन्सको विमानबाट यो टोली चीन फर्किएको हो। टोली आइतवार एयर चाइनाको चार्टर विमानबाट काठमाडौं आएको थियो। चार दिने नेपाल भ्रमणका क्रममा रहेको उच्चस्तरीय प्रतिनिधि मण्डलले नेपालको शीर्ष नेतृत्वसँग भेटघाट गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थियो।त्यस्तै नेकपाका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए। उनले मंगलबार प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। त्यसैगरी जसपा नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि सो टोलीले भेटेको थियो। संसद विघटन गरिएको र सत्तारुढ नेकपा विभाजनतर्फ गएको अवस्थामा नेपालमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमबीच चीनबाट उच्चस्तरीय टोलीले गरेको भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ।