22.1 C
Kathmandu
 

ड्रमको सहारामा कर्णाली नदीमा जीप तारेर पालिका पुर्‍याइयो

मार्तडी । बाजुराको उत्तरपूर्वी भेगमा अवस्थित स्वामीकार्तिक गाउँपालिकामा कर्णाली नदीमा ड्रमको सहायताले जीपलाई पुर्‍याइएको छ । दुर्गम तथा विकट स्वामीकार्तिक गाउँपालिकाको आर्थिक सहयोगमा शनिबार नदीमा ड्रमको सहारामा जीपलाई तारेर गाउँपालिकामा पुर्‍याइएको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताए । उनका अनुसार गाउँपालिकाका तीन वडामा सडक पुगेकाले यातायातका साधन नहुँदा हिँडेर नै सेवा लिन आउने नागरिकलाई सहजताका लागि यातायात सञ्चालन गर्ने गरी जीपलाई ड्रममा राखी चढाएर नदीमा तारिएको हो । स्थानीय तहको निर्वाचन भएको तीन वर्ष बितिसक्दा समेत गाउँपालिकामा हालसम्म सवारी–साधन पुग्न सकेको छैन । कर्णालीपारिको एकमात्र गाउँपालिकामा हालसम्म यातायात पुग्न नसकेको र त्यहाँका जनताले निकै सास्ती भोगेको समस्यालाई मध्यनजर गरी कर्णाली नदीमा ड्रमहरूमा जीपलाई चढाएर पारि तारिएको हो । ‘‘नदीमा जीप तार्न सहज नभए पनि जोखिम मोलेर तारियो,’’ अध्यक्ष शाहीले भने, ‘‘सुईजिउला कर्णाली नदीमा फेरी निर्माण गर्ने गरी डीपीआर तयार भए पनि आर्थिक अभावका कारण निर्माण गर्न सकिएको छैन । केही उपाय नलाग्दा ठूला ड्रमहरुमा बाँधेर जीप पारि लगिएको हो ।’’ गाउँपालिकाका पाँच वडामध्ये तीन वडामा सडक सञ्जालले जोडिएको छ । साविकको वाई र जुकोट गाविसमा सडक निर्माण भइसकेको र साविकको साप्पाटा गाविस जाने सडक निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ । शनिबार सु प प्र ००१ च २९४६ नम्बरको जीपलाई स्थानीयबासीले स्वागत गरेका थिए । स्वामीकार्तिक गाउँपालिका पूर्वमा कालिकोट र मुगु जिल्ला, पश्चिममा जगन्नाथ गाउँपालिका, उत्तरमा हिमाली गाउँपालिका तथा दक्षिणमा कालिकोट जिल्लासँग जोडिएको छ । गाउँपालिकाको जनसंख्या दुई हजार ४४२ घरधुरीमा १४ हजार ९०९ रहेको छ । गाउँपालिका साविकको साप्पाटा बस्ती लौठी, उपरगाउँदेखि साविकको वाई गाविसको मिगु अति दुर्गमका बस्ती हुन् । रासस

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर