मनसुनी न्यूनचापीय रेखा दक्षिणतर्फ सरेकाले मनसुनी गतिविधि केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश गरेकाले देशका केही भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहि केही ठाउँमा पानी पर्ने सम्भावना छ । आइतबार बिहान देशका पूर्वी तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली र मध्यमा आंशिक बदलीको अवस्था छ । पूर्वका केही भूभागमा हलुका वर्षा भैरहेको महाशाखाले जनाएको छ । आइतबार दिउँसो पनि देशका धेरैजसो भूभागका सामान्य वर्षा हुने अनुमान छ ।
यस्तै, आइतबार राति देशको पूर्वी भूभाागमा सामान्यदेखि पूर्ण बदली हुनुका साथै मध्य र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । आइतबार राति पूर्व र मध्यका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको पनि मौसमविद्ले जानकारी दिएका छन् ।
बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले सोमबारदेखि पानी पर्ने क्रम बिस्तारै बढ्दै जाने मौसमविद्हरुको अनुमान छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने र खोलाहरुमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।