20.1 C
Kathmandu
 

तरकारीको मूल्यवृद्धि भएपछि कालीमाटी र बल्खुमा अनुगमन, दर्जनभन्दा बढी पसल कारबाहीमा

काठमाण्डाै – सरकारले उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएपछि कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको नेतृत्वमा शुक्रबार बिहानै ४ बजेदेखि तरकारी बजारको अनुगमन गरिएको हो । अनुगमनका लागि दुई टोली खटिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो ।

राजधानीमा रहेका ठूला तरकारी बजारमा नियमित तरकारीको आपूर्ति भइरहे पनि अस्वभाविकरूपमा मूल्यवृद्धि भएको पाइएकाले अनुगमन गरिएको उहाँले बताउनुभयो । गएको असार अन्तिम साताको अविरल वर्षासँगै आएको बाढीपहिरो तथा डुबानका कारण तरकारी आपूर्तिमा केही समस्या देखिएको थियो । विपद्का कारण अवरुद्ध भएका सडक सञ्चालनमा आई तरकारीको आपूर्ति सामान्य अवस्थामा फर्किसकेको छ ।

बाढी, पहिरो तथा डुबानको समस्या देखाउँदै कालीमाटी र बल्खुस्थित व्यवसायीले तरकारीको थोक मूल्य अस्वभाविकरूपमा वृद्धि गरेका छन् । जसको परिणामस्वरुप सर्वसाधारणको भान्छासमेत निकै महङ्गो बनेको छ । सरकारले कृत्रिम मूल्यवृद्धि गर्ने व्यापारी, व्यवसायीमाथि कारवाही गर्न सकेको छैन । गएको वर्ष पनि सरकारले कालीमाटीस्थित तरकारी बजारमा बिचौलिया हावी भएको भन्दै अनुगमन गरे पनि कारबाही गर्न सकेको थिएन ।

अनुगमनमा खटिएका निरीक्षण अधिकृतले तरकारी खरिद गरेको बिलबिजक नदेखाउने व्यापारीमाथि तत्काल कारवाही गर्ने विभागका महानिर्देशक गौचनले बताउनुभयो । ‘बिचौलिया, ढुवानीकर्ता तथा किसानबाट खरिद गरेर ल्याएको तरकारी कतिमा बिक्री भयो भन्ने थाहा नहुँदासम्म उपभोक्ता ठगिइरहन्छन्’, उहाँले भन्नुभयो, ‘ठगीबाट उपभोक्तालाई जोगाउन कालीमाटी र बल्खुका तरकारी पसलमै पुगेर अनुगमन गर्ने काम भइरहेको छ, खरिद बिलबिजक लुकाउने व्यापारीमाथि कारवाही हुनेछ ।’

खरिद गरिएको बिलबिजक, भरपाई  तथा ‘रिसिप्ट’ देखाउन नसक्ने व्यापारीमाथि तत्काल जरिवाना गरिने उहाँको भनाइ छ । अनुगमनलाई अभियानका रूपमै सञ्चालन गरिने तयारी गरिएको छ । बिहान ८ बजेसम्म अनुगमन टोलीले बल्खुस्थित तरकारी बजारका सात र कालीमाटीस्थित तरकारी बजारका छ पसलमाथि कारबाहीस्वरुप जरिवाना गरेको विभागले जनाएको छ ।

विभागका निरीक्षण अधिकृत दीपक पोखरेलको नेतृत्वमा कालीमाटी र पवन प्याकुरेलको नेतृत्वमा बल्खुस्थित तरकारी बजारको अनुगमन भइरहेको छ । अनुगमन टोलीमा कृषि विभागका प्रतिनिधि र केही सुरक्षाकर्मी सहभागी रहेको विभागले जनाएको छ ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर