काठमाण्डौ – बाढी र पहिरोका कारण अवरुद्ध सडक खुलाउने पहल भैरहेको सडक विभागले जनाएको छ । विभागका अनुसार काठमाण्डौबाट बल्खु हुँदै हेटौँडा जोड्ने सडक खुल्न अझै चार दिन लाग्ने भएको छ ।
मकवानपुरको कुलेखानी सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेकाले पहिरो पन्छाउन चार दिन जति लाग्ने सडक विभागले जनाएको छ । यस्तै अवरुद्ध बीपी राजमार्ग खुलाउन पनि एक, दुई दिन लाग्ने भएको छ । काभ्रेको रोशी गाउँपालिका ११ माम्तीमा र सिन्धुलीको सुनकोशी गाउँपालिका १ कमेरेमा सडकमा लेदो माटो खसेर राजमार्ग अवरुद्ध बनेको हो । काभ्रे भिरमा चट्टान काटेर सडक बनाउनुपर्ने भएकाले अझै केही दिन लाग्न सक्ने विभागको भनाइ छ ।
मुस्ताङको थामाङ गाउँपालिका ४ घोप्टेभीरमा कालीगण्डकी नदीमा पानीको वहाव बढेर बेनी जोमसोङ जाने सडकखण्ड अवरुद्ध भएको छ । यो खण्डमा भने बिस्तारै पानी पर्न कम भएर पानीको सतह घट्दै गएपछि सडक सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।
बाढीले कटान गर्दा अवरुद्ध भएको उदयपुरको घुर्मी कटारी सडक खण्ड सञ्चालनमा आउन पनि केही दिन लाग्ने भएको छ । सिद्धिचरण राजमार्ग सञ्चालनमा आउन भने कम्तीमा ३ दिन लाग्ने भएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ मा पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको हो ।
यस्तै, पहिरोका कारण अबरुद्ध रहेको मेची राजमार्ग अन्तर्गत राँके—फिदिम सडकखण्ड शनिबारदेखि एकतर्फी रुपमा खुलेको छ । सडक विभागले अत्यावश्यक अवस्थाबाहेक क्षति पुगेका वा संवेदनशील देखिएका सडक प्रयोग नगर्न सबैसँग आग्रह गरेको छ ।