काठमाडौं । लगातारको वर्षाका कारण आएको बाढीले रौतहट जिल्लाका विभिन्न ठाउँ डुबानमा परेको छ । बागमती, लाल बकैया झाँझ, चादीलगायत नदीमा बाढी आउँदा रौतहटको गौर, गरुडा र चन्द्रपुर नगरपालिका डुबानमा परेका छन् ।
देवाही, गनाई, हतुवापुर, कटहरिया, छतुवाविजयपुर, दुर्गाभगवती लगायत गाउँबाट एक हजारजना विस्थापित भएको रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । “सुरक्षा निकाय बसेको ठाउँ नै पानीले भरिएको छ । पानी परिरहेकाले हामीबीच टेलिफोन सम्पर्क मात्रै हुनसकेको छ । लगातार पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको छ,” प्रमुख जिल्ला अधिकारी थापाले बाह्रखरीसँग भने, “हेलिकप्टरबाट उद्धार गर्न पनि घाँटी घाँटी पानी भएकाले ल्यान्ड गर्ने ठाउँ छैन । त्यसैले चपुरमा बसाएर भए पनि उद्धारको प्रयास गर्ने छौं ।”
थापाले हेटौंडाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि मोटर बोटसहित आउन लागेको जानकारी दिए ।
सुरक्षाकर्मीका ब्यारेक र कार्यालय नै डुवानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको कार्यालयसमेत डुबानमा परेका छन् ।
जिल्लाका बाग्मती र लाल बकैया नदीको बाँध विभिन्न स्थानमा फुटेका छ । नदी आसपासका सयौं परिवार विस्थापित भएका छन् । जिल्लाका अहधिकांस सडक सञ्जाल विच्छेद भएको छ । पानी पर्ने क्रम नरोकिएको र नदीमा बहाव बढ्दै गएपछि स्थानीय त्रसित भएका छन् ।