17 C
Kathmandu
 

दुई दिनमै रोकियो काठमाडौंको ‘एन्टिजेन’ परीक्षण

सरकारले काठमाडौं उपत्यकामा ‘एन्टिजेन’ परीक्षण तत्कालका लागि स्थगित गरेको छ।परीक्षण गर्न आउनेहरूको सहभागिता न्यून देखिएपछि हाललाई परीक्षण स्थगित गरिएको हो।

सरकारले एन्टिजेन परीक्षण सोमबारदेखि सुरू गरेको थियो। तर मानिसहरू परीक्षणमा नआएपछि सोमबार र मंगलबार मात्र परीक्षण गरी बुधबारदेखि बन्द गरिएको हो।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले ‘एन्टिजेन’ परीक्षणमा मानिसहरूको आकर्षण नभएको भन्दै अब थप छलफल गरेर मात्र परीक्षण पुनः सुरू गरिने जनाए।’सुरूमै ३ हजार जनाको परीक्षण गर्ने भनिएको थियो तर १५ सय जनाको मात्र गरियो। फिल्डमा गएर बुझ्दा मानिसहरूको परीक्षणमा आकर्षण देखिएन,’ उनले भने।

निर्देशक पाण्डेले मानिसहरू पोजेटिभ देखिए १४ दिन होमआइसोलेसनमा बस्नुपर्ने झन्झट सम्झेर परीक्षण गर्न नआउने गरेको बताए।

उनले भने, ‘पोजेटिभ आएर पनि घरमै बस्नुपर्ने रै’छ भनेर किन परीक्षण गर्न जाने भन्ने मानिसहरू पनि भेटिए।’

साथै, मानिसहरूमा पोजेटिभ देखिहाले त्यसले उनीहरूको दैनिक काममा पनि असर गर्ने हुँदा परीक्षण गराउन नआएको उनको बुझाइ छ।पोजेटिभ आए जागिरमा जान नपाइने र १४ दिन घरमै बस्नुपर्ने झमेला मानिसहरूले लिने गरेको पाण्डे बताउँछन्।

उनले पहिलेजस्तो परीक्षण गराउन मानिसहरूको भीड समेत नहुने गरेको जनाए। यसको कारण मानिसहरूमा रोगसँगको डर कम हुँदै गएको उनी औंल्याउँछन्। ‘पहिला मानिसहरू थुरथुर हुन्थे। अहिले त्यो डर कम भयो। पहिले परीक्षण गर्न जाँदा जति भीड हुन्थ्यो त्यो अहिले छैन,’ उनले भने।

परीक्षण गराउन मानिसहरूको सक्रियता नदेखिएपछि महाशाखाले अब कसरी अगाडि बढ्ने भनेर थप छलफल गर्ने भएको छ।

साथै, अहिलेसम्म गरिएका परीक्षणको विश्लेषण समेत गरिने पाण्डेले बताए।

उनले भने, ‘कति पोजेटिभ आयो र अब परीक्षण गर्दा कुन समूहमा गर्ने, कहाँ गर्ने भनेर फेरि पालिकाहरूमा छलफल गर्नुपर्छ। त्यसको लागि पनि परीक्षण अहिलेलाई रोकिएको हो।’

उनले दुई दिनमा १५ सय जनाको परीक्षण गर्दा १२० जना अर्थात् जम्मा ८ प्रतिशतमा पोजेटिभ देखिएको जनाए।

जुन अहिले पिसिआर परीक्षणबाट पोजेटिभ देखिएको भन्दा दोब्बर कम हो। अहिले पिसिआर परीक्षणबाट औसत १८ प्रतिशत व्यक्तिमा पोजेटिभ देखिएको छ।

हिजोमात्र ९ हजार २८९ जनाको परीक्षण गर्दा एक हजार ३४३ जना अर्थात १४.४५ प्रतिशतमा संक्रमण पोजेटिभ देखिएको थियो।

यसरी पिसिआर परीक्षणभन्दा प्रभावकारी कम देखिएकाले गर्दा पनि एन्टिजेन टेस्टबारे थप छलफल गरिने महाशाखाले जनाएको छ।

सरकारले गत सोमबार एन्टिजेन परीक्षण सुरू गरेको थियो। निर्देशक पाण्डेले दुई दिनमा उपत्यकाको ‘हटस्पट’ को रूपमा देखिएका १८ ठाउँहरूमा परीक्षण गरिएको जनाए।

सरकारले कम्तिमा पनि एक लाख जानको ‘एन्टिजेन’ परीक्षण गर्ने भने पनि परीक्षण गराउन मानिसहरूको सहभागिता न्यून देखिएपछि कसरी अगाडि बढ्ने अन्यौलता सिर्जना भएको छ।

अब परीक्षणलाई थप प्रभावकारी बनाउन ‘रिच कम्युनिकेसन’ मा काम गर्नुपर्ने पाण्डेको बुझाइ छ।

‘हामीले मानिसहरूलाई तपाईंले परीक्षण गर्नुपर्छ नत्र फेरि महामारी हुन्छ भनेर बुझाउनुपर्ने भयो,’ उनले भने।

निर्देशक पाण्डेले परीक्षणमा मानिसहरूको आकर्षण कमी देखिए पनि परीक्षण नरोकिने दाबी गरे।

उनले भने, ‘परीक्षण रोकिँदैन। तर कहाँ गर्ने कसरी गर्ने भनेर स्थानीय पालिकाहरूले योजना ल्याएपछि हामी परीक्षण गर्न जान्छौं। अब यसबारे थप मन्त्रालयको ‘इन्सिडेन्ट कमान्ड सिस्टम’ आइसिएसमा छलफल हुन्छ।’

पाण्डेले अर्को साताबाट परीक्षण पुनः सुरू गरिने जनाए।

उनले ‘एन्टिजेन’ परीक्षणमा ‘क्लोज कन्ट्याक्ट’ अर्थात् नजिकको सम्पर्कमा आएका व्यक्तिहरूलाई दिइएको बताए।

साथै, जोखिम क्षेत्रमा काम गर्ने मानिसहरूलाई समेत परीक्षणको प्राथमिकतामा राखिएको उनी बताउँछन्।

तर विज्ञहरूले भने ‘एन्टिजेन’ परीक्षण विश्वसनीय नभएको भन्दै यसलाई प्रयोग गर्न नहुने बताउँदै आएका छन्।

‘एन्टिजेन’ परीक्षणले भाइरसको जनु विन्दुलाई समात्नुपर्ने हो त्यसलाई समात्ने सम्भावना कम हुने भन्दै यसले पोजेटिभ व्यक्तिहरूलाई पनि नेगेटिभ देखाइदिने उनीहरूको तर्क छ।

निर्देशक पाण्डेले भने पिसिआर जतिको प्रभावकारी नदेखिए पनि ‘एन्टिजेन टेस्ट’ लाई विश्व स्वास्थ्य संगठन र अमेरिकाको ‘फुड एन्ड ड्रग एसोसिएसन’ ले स्वीकृति दिएका कारण प्रयोगमा ल्याइएको बताए।

‘स्वास्थ्य मन्त्रालयले समेत पाठ सिकिसकेको छ। पहिले आरडिटी गर्दा जुन कुरा आयो फेरि त्यो नआओस् भनेर सोचेर गरेको हो,’ उनले भने।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

हिटर सर्ट भएर आगो लाग्दा कलंकीमा एक वृद्धको मृत्यु

६ माघ, काठमाडौं । काठमाडौंको कलंकीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । ८६ वर्षीय शिवराम खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त...

भारतको गुजरातमा फुटपाथमा सुतेका मजदुरलाई ट्रकले कुल्चिँदा १५ जनाको मृत्यु

६ माघ, काठमाडौं । भारतीय राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको...

अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख

६ माघ, काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख ५६ हजार ६७६ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो...

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

६ माघ, काठमाडौं ।अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानको खारेज गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा...

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघ्यो

६ माघ, काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म...