28.1 C
Kathmandu
 

तीव्र उतारचढाब देखिएको नेप्से बैंकिङ्ले साथ नदिए पनि दोहोरो अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार बढ्ने क्रमले निरन्तरता पाएको छ । प्रि ओपनिङ सेसनमा नै ३१.७३ अंकको बृद्धिसहित दुईहजार अंकमा खुलेको थियो । इतिहासमा नै पहिलोपटक दुईहजार अंकको बिन्दु पार गरेको नेप्से सुरुवाति समयमा तीव्र उतारचढाब देखिँदा बजार खुलेको पाँचमिनेटमा नै २०२८.७३ अंकसम्मको जम्प हानेको थियो ।

लगत्तै बढ्दो बजारमा लगानीकर्ताले नाफा बुक गर्न बिक्री चाप बढाउँदा नेप्से ओरालो लागेर १९७३ अंक सम्म झर्यो । त्यसपछि पनि उतारचढाव कायम रहेको नेप्सेले पटक–पटक दुईहजार अंकको विन्दु पार गरे पनि अन्तिममा भने नेप्से आइतबारको भन्दा २८.७९ अंकले बढेर १९९७.०४ बिन्दुमा बन्द भएको छ ।
करिब दुई हजारको नजिक बन्द भएको बजार परिसूचक अहिलेसम्मकै उच्च हो ।अघिल्लो साता सँगै आइतबार उच्च अंकले बढेको बैंकिङ र विकास बैंक समूहको सूचकले साथ नदिँदा पनि नेप्से भने दोहोरो अंकले बढेको छ । बैंकिङ र विकास बैंक समूहका लगानीकर्ताले नाफा बुक गर्दा करेक्सन देखिए पनि जीवनले नेतृत्व गरेको बजारमा व्यापार सँगै हाइड्रोपावर, अन्य, निर्जीवन बिमा लघुवित्त र उत्पादन समूहको सूचकले नेप्सेलाई साथ दिएको छ ।

जीवन बिमा समूहको सूचक सर्वाधिक ७.३४ प्रतिशतले वृद्धि हुँदा त्यसलाई साथ दिँदै व्यापार समूहको सूचक ६.६१ प्रतिशत, हाइड्रोपावर समूहको सूचक ५.९१ प्रतिशत, अन्य समूहको सूचक २.६४ र निर्जीवन बिमा समूहको सूचक २ प्रतिशतले बढेको छ । तर नाफा बुक गर्दा बैंकिङ समूहको सूचक ०.४८ प्रतिशत र विकास बैंक समूहको सूचक २.०८ प्रतिशतले घटेको छ । यस्तै वित्त कम्पनी समूहको सूचक र म्युचुअल फन्ड समूहको सूचक पनि घटेको छ ।

आइतबारको तुलनामा कारोबार रकममा केही कमी आए पनि आइतबार अहिलेसम्मकै उच्च रकमको कारोबार भएको रकममा आज दोस्रो धेरै कारोबार भएको छ । नेप्सेमा आज १९८ कम्पनीको सेयर किनबेच हुँदा करिब ९ अर्बको कारोबार भएको छ । ८३ हजार ५६७ वटा कारोबारबाट २ करोड १५ लाख ९१ हजार ३१९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८६ करोड ७७ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।

बजार परिसूचकको नेतृत्व गरेका जीवन बिमा कम्पनीले नै कारोबार रकमको पनि नेतृत्व गरेको छ । सोमबार नेपाल लाइफ इन्स्यारेन्सको सर्वाधिक २८ करोड ४८ लाख ८७ हजारको कारोबार भएको छ । यस्तै नेपाल पुनर्बिमा कम्पनी र प्रभु बैंकको पनि ३५ करोड माथिको कारोबार भएको छ । सोमबार ९ कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले वृद्धि भएको छ । युनाइटेड मोदी हाइड्रोपावर, अपर तामाकोसी, ग्रीन डेभलमेन्ट बैंक, नेपाल बंगलादेश बैंकलगायतका लगानीकर्ताले सर्वाधिक कमाउँदा विशाल बजार कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै बोटलर्स नेपाल तराइका लगानीकर्ताले पनि ५ प्रतिशत माथिले गुमाएका छन् । बैंकिङ समूहको सूचक रातो हुँदा पनि नेपाल बंगलादेश बैंक र एनसीसी बैंकको लगानीकर्ताले भने ९ प्रतिशत माथिले कमाएका छन् ।

विभिन्न टेवा पाएका बजारमा लगानीकर्तामा देखिएका पोजेटिभ सेन्टिमेन्टले गर्दा बजार परिसूचक निरन्तर बढ्दै गएको छ भने उच्च रकमको कारोबार भइरहेको छ । अनलाइन कारोबार प्रणालीको कारण नै यति ठुलो कारोबार सम्भव भएको दलाल व्यवसायी बताउँछन् । कूल कारोबारको ८५ देखि ९० प्रतिशत अनलाइनबाट नै हुने गरेको उनीहरुको भनाइ छ ।

कर्जाको ब्याजदर अझै केही समय बढ्ने अवस्था नरहेको भन्दै केही करेक्सन आए पनि बजार अझै बढ्नसक्ने देखिएको विश्लेषकहरुको दाबी छ ।

 

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर