9 C
Kathmandu
 

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश- इतिहासले विरासतमा छाडेको सीमा समस्या मिलेर सल्टाऔं

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमालगायत सबै द्विपक्षीय समस्या वार्ताबाटै समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन्।नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन शृंगलासँग बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई उक्त सन्देश पुर्‍याइदिन आग्रह गरेका हुन्।

ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार सचिव श्रृंगलाले दुई देशबीच आपसी सम्बन्धलाई ‘राम्रो’ बनाएर अगाडि लैजान चाहेको सन्देश सुनाएका थिए।

‘सीमा लगायत विवादित विषयमा वार्ताका माध्यमबाट शान्तिपूर्ण रूपले समस्या समाधान गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौं,’ उक्त भेटमा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सल्लाहकार भट्टराईले भने, ‘हाम्राबीच सीमा विवाद एकाएक सिर्जना भएका होइनन्। इतिहासले विरासतमा छाडेका समस्या हुन्। यसलाई थाती राखेर जाँदा झन् समस्या आउन सक्छ, त्यसैले मिलेर समाधान गरौं। यो सन्देश भारतीय प्रधानमन्त्री मोदीलाई लगिदिन म आग्रह गर्छु।’

नेपालको उक्त भनाइमा भारतीय सचिव श्रृंगलाको जवाफ के थियो भन्ने प्रश्नमा सल्लाहकार डा. भट्टराईले भने, ‘परराष्ट्र सचिवस्तरीय आजको वार्तामा दुई देशबीच सहकार्य र आपसी सबै विषयमा छलफल भएको भारतीय सचिवले अवगत गराउनुभयो। उहाँले दुई देशबीचको सम्बन्धलाई थप सकारात्मक बनाउँदै परिणाममूलक बनाउन पहल गर्ने विश्वास पनि दिलाउनुभएको छ।’

यसअघि भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई टेलिफोन गरी शुभकामना दिएका थिए। त्यस क्रममा भारतीय प्रधानमन्त्री मोदीले आफूले नेपालमा विशेष दूत पठाउने बताएका थिए।

प्रधानमन्त्री ओलीले भारतीय विदेश सचिवसँगको भेटमा नेपालको भू-भाग कुनै पनि छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा नेपाल स्पष्ट रहेको अवगत गराए। नेपाल तटस्थ रहेर कसैको पनि ‘कार्ड’ का रूपमा प्रयोग नहुने उनले बताए।

भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नयाँ राजनीतिक नक्सामा समावेश गरेपछि नेपालले आपत्ति जनाउँदै आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गर्नुका साथै त्यसलाई संघीय संसदबाट पारित गरेर संविधानको अनुसूचीमा समावेश गरेको थियो।त्यसपछि दुई देशबीच औपचारिक वार्ता नभएको स्थितिमा पछिल्ला समय भारतीय पक्षबाट भएका नेपाल भ्रमण र भेटवार्ताले वातावरण सहज हुँदै गएको छ।

गत महिना भारतीय प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए।

बिहीबारै नेपाल आएका भारतीय विदेश सचिव शृंगलाले दिउँसो परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरेका थिए भने दुई मुलुकका परराष्ट्र सचिवस्तरीय औपचारिक वार्ताको नेतृत्व गरेका थिए।

उनले बिहीबार साँझ शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरे। उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरेकी छन्।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

हिटर सर्ट भएर आगो लाग्दा कलंकीमा एक वृद्धको मृत्यु

६ माघ, काठमाडौं । काठमाडौंको कलंकीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । ८६ वर्षीय शिवराम खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त...

भारतको गुजरातमा फुटपाथमा सुतेका मजदुरलाई ट्रकले कुल्चिँदा १५ जनाको मृत्यु

६ माघ, काठमाडौं । भारतीय राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको सुरत भन्ने स्थानको...

अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख

६ माघ, काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ३५ लाख ५६ हजार ६७६ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो...

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै रिट

६ माघ, काठमाडौं ।अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानको खारेज गर्न माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा...

कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघ्यो

६ माघ, काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म...