काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) मा मेकानिकल इन्जिनियरिङका विद्यार्थीले कलाका विषय पढ्न पाउने भएका छन् । मेकानिकल इन्जिनियरिङको पहिलो वर्षको पहिलो सेमेस्टरमै क्रेडिट कोर्सका रुपमा कलाका विषय पढाउन लागिएको हो ।
उक्त विषय तयार पार्न सुरुवातदेखि लागेका प्रा.डा. भोला थापा इन्जिनियरिङको विषयमा कलाका विषय महत्त्वपूर्ण हुने बताउँछन् । विश्वविद्यालयका पूर्वरजिस्ट्रार समेत रहेका थापा इन्जिनियरिङले वस्तुको कार्यक्षमता मात्र ध्यान दिने सुनाउँछन् । इन्जिनियरले वस्तु डिजाइन गर्दा वस्तुको सौन्दर्य, कलात्मक पक्ष र ग्राहकको पक्षबाट खासै नहेरिने उनको भनाइ छ । यो विषय पहिलो सेमेस्टरबाटै २/२ क्रेडिटमा पढाउन विषय कमिटिले अनुमोदन गरिसकेर विश्वविद्यालयको फ्याकल्टी बोर्ड र एकेडेमिक काउन्सिलमा प्रस्तुत गरिएको छ ।
थापाका अनुसार इन्जिनियरिङको पहिलो वर्षदेखि नै मेसिनको अवधारणा र त्यसको डिजाइन पढाइन्छ । जहाँ विद्यार्थी मेसिनकै दृष्टिकोणबाट मात्रै वस्तु देख्ने हुन्छन् । आकृति र कार्यक्षमता एकसाथ जोडिँदा वस्तुको महत्त्व बढ्छ । उनी भन्छन्, “ललितकलामा पनि प्रविधि तथा इन्जिनियरिङ हुन्छ । इन्जिनियरिङले वस्तुको कार्यसम्पादन मात्र हेर्छ भने कलाबाट सिर्जना जन्मिन्छ ।”
भारतमा प्रविधि पढाउने संस्था भए पनि तिनमा डिजाइनलाई मात्रै ध्यान दिएर पढाउने थुप्रै विश्वविद्यालय रहेको थापाले बताए । ‘‘हामी कहाँ भने त्यस्तो छैन,’’ उनले भने, ‘‘नेपाली प्राचीन मठ मन्दिर, हस्तकला तथा मूर्तिकलामा कला मात्र होइन ती इन्जिनियरिङका उत्कृष्ट नमुना पनि हुन् । इन्जिनियरले भोलि वस्तुको निर्माण गर्ने उपभोक्ताकै लागि हो ।’’
कार्यक्षमतामा मात्र ध्यान दिइरहँदा वस्तुको सौन्दर्य पक्ष हेर्न जरुरी रहेको उनको सुझाव छ । उनी भन्छन्, “यात्री मोटरसाइकल बन्यो, त्यो कति माइल दगुर्छ मात्र होइन उपभोक्ताले किन्ने बेला त्यसको रुपरंग सबै हेर्छ । रुपरंग मन परेन र आरामदायी लागेन भने बजारमा उपलब्ध अन्य वस्तु रोज्छ ।” वस्तु उत्पादन गरिने उपभोक्ताका लागि हो । त्यसैले वस्तुको सौन्दर्य तथा कलात्मक पक्षमा ध्यान दिनुपर्ने उनको राय छ ।
यस्तै, कला विषय पढाउँदा विद्यार्थी सिर्जनशील भएका र उनीहरुको पेसामा यो दक्षता महत्त्वपूर्ण कडी बन्न पुगेकाले क्रेडिट कोर्सकै रुपमा पढाउन लागेको उनले बताए । विश्वविद्यालयले विगतमा पनि मेकानिकल इन्जिनियरिङअन्तर्गत सो विषय पढाएको थियो । त्यसबेला कोर्सलाई नन क्रेडिट (गैरक्रेडिट) का रुपमा पढाइन्थ्यो । अन्तिम वर्षको पहिलो सेमेस्टरमा पढाइने सो विषयबाट दुई ब्याच लाभान्वित भइसकेका छन् ।
गत वर्ष काठमाडौं विश्वविद्यालयबाट मेकानिकल इन्जिनियर बनेका २३ वर्षीय सुशीलराज श्रेष्ठ कला विषय पढ्नाले इन्जिनियरिङमा त्यसको कलात्मक पक्षबारे बुझ्न सजिलो भएको बताउँछन् । उनले कला विषयले वस्तुको डिजाइन गर्दा समस्या समाधान गर्न सक्ने सीप हासिल गरेको बताए । उनी भन्छन्, “बस्ने चियर बनाउदा कति ढल्कनेजस्ता कुरा इन्जिनियरिङका पक्ष हुन् । तर कस्तो स्वरुप दिने र उपभोक्तालाई त्यसमा बस्दा आराम मिल्छ कि मिल्दैन त्यो भने कलाले सिकाउँदो रहेछ ।”
काठमाडौं विश्वविद्यालयबाटै मेकानिकल इन्जिनियरिङमा स्नातक गरेकी, २३ वर्षीया नसला शाक्य इन्जिनियरिङको डिजाइन कोर्सले वस्तुको कार्यक्षमतामा मात्र ध्यान दिने बताउँछिन् । खर्च कति लाग्ने, सुरक्षित कति हुने र धेरै उत्पादन गर्ने कुरामा ध्यान दिने उनले बताइन् । तर कलाको कक्षामा इन्जिनियरिङबाट बनेका वस्तु र अन्य नियमित वस्तुबारे बताइन्छ ।
‘‘रचनात्मक हुन सिकाइन्थ्यो र सिर्जनाका स्रोतहरु खोज्न लगाइन्थ्यो,’’ उनले भनिन्, ‘‘स्केच गर्न लगाएर वस्तुको प्रोटोटाइप (नमुना) बनाउनुपर्थ्यो ।’’ चित्र प्रदर्शनीहरु हेर्ने, वस्तुको डिजाइन कसरी गर्ने, कसरी सिर्जनात्मक हुने, मस्तिष्कमा चित्र कसरी उतार्ने र उपभोक्तामैत्री कसरी बनाउने जस्ता विषय सिकेको उनले बताइन् । ‘‘कलेजको दोस्रो वर्ष नै पढ्न पाएको भए वस्तुको डिजाइन गर्ने गृहकार्यहरुमा अझ सजिलो हुन्थ्यो,’’ उनले थपिन् ।