8 C
Kathmandu
 

छिमेकीको पूजाबाट नफर्किएकी ४ वर्षीया रुविना

मकवानपुर बागमती गाउँपालिका-७ लामिटारमा शेरबहादुर पाख्रिन बुधबार साँझ छिमेकीको घरमा व्यस्त थिए।छिमेकीको नयाँ घरको पूजा थियो। पूजा भएकाले गाउँमा चहलपहल पनि थियो।

उनकी ४ वर्षीया छोरी रुविना पनि त्यही पूजामा रमाइरहेकी थिइन्, साथीसँग खेलिरहेकी थिइन्।

अबेर भएपछि बुवा शेरबहादुरले रुविनालाई ‘घर हिँड छोरी’ भने। साथीहरूसँग रमाइरहेकी उनी घर जान मानिनन्।छोरी रमाइरहेको देखेर शेरबहादुरले पनि कर गरेनन्। छोरी एकछिन खेलोस् भनेर त्यहाँबाट निस्किए।

शेरबहादुरका अन्दाजी १० वर्षीय छोरा पनि छन्। साँझ साढे ६ बजेतिर शेरबहादुर फेरि छोरी लिन छिमेकीको घर गए।

पहिला खेलिरहेको ठाउँमा रुविना भेटिइनन्।

मकवानपुर प्रहरीका अनुसार त्यतिबेला गाउँमा बत्ती पनि गएको थियो, चारैतिर अँध्यारो भइसकेको थियो।रुविना हराएपछि परिवारले खोजी गर्न थाल्यो। प्रहरीलाई बालिका हराएको खबर पुग्यो। परिवार, स्थानीय र प्रहरी सबै मिलेर उनको खोजीमा जुटे।

करिब आठ बजेतिर रुविना गाउँनजिकैको मनसायी खोलाको बगरमा फेला परिन्। उनी अचेत अवस्थामा थिइन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार उनको टाउकोमा चोट लागेको थियो।

प्रहरीले तत्कालै बालिकाको उपचारका लागि हेटौंडा अस्पताल लग्यो। अस्पताल पुग्दा चिकित्सकले रुविनालाई मृत घोषणा गरे।

प्रहरी नायब उपरीक्षक राना घटना भएपछि बुधबार राति नै अनुसन्धान गर्न लामिटार पुगेका थिए।

उनको टाउकोमा चोट देखिएको हुँदा हत्या भएकोमा कुनै आशंका नभएको रानाको भनाइ छ।

‘बालिकाको टाउकोमा ढुंगाले हिर्काएर मारिएको छ,’ उनले भने।

उनको बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान भइरहेको रानाले बताए।

रुविनाले लगाएको कट्टु पनि फुकालिएको अवस्थामा फेला परेको थियो।

‘बालिका नग्न अवस्थामा फेला परेकी हुन्। बलात्कार भएको हो वा होइन भन्ने पुष्टि भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्न सक्छौं,’ प्रहरी नायब उपरीक्षक रानाले भने।

घटनापछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। जसमध्ये एक जना १६ वर्षीय किशोरसमेत छन्। प्रहरीले उनको परिचय भने खुलाएको छैन।

त्यस्तै सोही ठाँउका २० वर्षीय कुमार भोलानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। कुमार भोलान ती किशोरका काका हुन्।

प्रहरीका अनुसार उनीहरूमाथि शंका गर्ने आधारहरू बनेपछि पक्राउ गरेको थियो।

ती १६ वर्षीय किशोरले पनि आफूले हत्या गरेको स्विकारेको प्रहरी नायब उपरीक्षक रानाले बताए।

‘उसले आफूले हत्या गरेको स्विकारिसकेको छ,’ उनले भने,’अर्का व्यक्तिमाथि पनि अनुसन्धान गरिरहेका छौं। सबै कुरा सोधपुछ भइसकेको छैन, बाँकी काम भइरहेको छ।’

स्थानीय सुकबहादुर बोलेका अनुसार घटनापछि ती किशोर रुविनाको शव हेर्न खोलामा पुगेका थिए। त्यही बेलामा अरूले देखेपछि उनले शव फेला परेको भन्दै जानकारी गराएका थिए।

‘खोलामाथि पुल छ। ऊ आफ्ना काकासँग जाँदै थियो। काकासँग चुरोट पुलबाट खस्यो म लिन जान्छु भनेर गएछ। खासमा उ रुविना मरिन् कि मरिनन् भनेर हेर्न गएको रैछ,’ बोलेले भने,’तल जाँदा अरू मान्छेहरू पनि खोजिरहेका थिए। त्यसैबेला अरूलाई देखेपछि उसले आत्तिएर शव फेला परेको भन्यो।’

उनका अनुसार बालिकाको निर्मम तरिकाले हत्या गरिएको थियो।

‘बालिकामाथि बलात्कारपछि ढुङ्गाले हिर्काएर हत्या गरिएको जस्तो छ। टाउको नै फुटेको छ,’ उनले भने।

तत्कालै प्रहरीले उनलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा उनले हत्या गरेको स्वीकारेको प्रहरी नायब उपरीक्षक रानाले बताए।

अहिले रुविनाको शव हेटौंडा अस्पतालमा राखिएको छ।

उनको पोष्टमार्टम आजै हुने र बलात्कार भए/भएकोबारे पनि पुष्टि गरिने प्रहरी नायब उपरीक्षक रानाले बताए।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर

चौबीस घण्टामा १३ संक्रमितको मृत्यु, १३४३ संक्रमित थपिए

काठमाडौं । कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना...

नौ दिनपछि सेयर बजारमा करेक्सन, नेप्से दोहोरो अंकले घट्दा ८ अर्ब माथिको कारोबार

काठमाडौं । नौ दिनपछि सेयर बजारमा करेक्सन देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको करेक्सन देखिएको छ...

कैदी फरार घटनामा दुई प्रहरी निलम्बित

भरतपुरबाट कैदी फरार भएका घटनामा दुई प्रहरीलाई निलम्बन गरिएको छ । कारागार सुरक्षामा खटिएका ती प्रहरीलाई असावधानी अपनाएको भनी निलम्बन गरिएको हो । जिल्ला प्रहरी...

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास गएका हुन्। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित...

विराटनगरमा हजार बेडको कोभिड अस्पताल अझै बनेन

विराटनगर । कोभिड महामारीबीच लक्ष्यणसहितका संक्रमित थपिने क्रम बढेको छ । यहीबीच प्रदेश–१ सरकारले प्रदेश राजधानी विराटनगरमा एक हजार बेड क्षमताको कोभिड अस्पताल बनाउने...