24.1 C
Kathmandu
 

चलचित्र क्षेत्रबाट मात्रै सर्ने हो कारोना ?

काठमाडौं । कोरोना संक्रमणको त्रासका कारण बन्द भएका प्रायः अधिकांश क्षेत्र खुला भइसक्दा पनि चलचित्र क्षेत्र भने अझै खुल्न सकेको छैन । सरकारले बन्द रहेका सिनेमा हल खोल्न अझै अनुमति दिएको छैन । हल नखुल्दा चलचित्र छायांकनको काम पनि सुरु हुन सकेको छैन ।

दसैँअगाडि नै सिनेमा हल खोल्न चलचित्रकर्मीहरुले माग गरे पनि सरकारले सुनेन । चलचित्र विकास बोर्डले सिनेमा हल खोल्न निरन्तर पहल गरे पनि सरकारले वास्ता नगर्दा दसैँ मात्रै होइन तिहारमा पनि खुलेनन् । हल नखुल्दा अर्बौं लगानीका सिनेमा हल अलपत्र परेका छन् भने करोडौं लगानीका दर्जनौं चलचित्र थन्किएका छन् ।सबै क्षेत्र खोलिएको अवस्थामा अब सिनेमा क्षेत्र पनि खोलिनुपर्ने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल बताउँछन् । “सबै क्षेत्र खुलिसके, अब चलचित्र क्षेत्र मात्रै बाँकी छ । कि चलचित्र क्षेत्रबाट मात्रै कोरोना लाग्छ भन्नुपर्‍यो होइन भने सञ्चालनको अनुमति दिनुपर्यो,” दाहाल भन्छन्, “अहिले पनि म सञ्चार मन्त्रालयमै छु । तत्काल सिनेमा क्षेत्रलाई पनि अन्य क्षेत्रलाई जस्तै सञ्चालनको अनुमति दिनुपर्यो भनेर मन्त्रीज्यूलाई भन्न आएको हुँ ।”

चैत ७ गतेबाट हलहरु बन्द छन् भने त्योभन्दा अगाडि देखि नै छायांकनको सम्पूर्ण काम रोकिएको छ । केही ब्यानरले लुकीचोरी छायांकन सुरु गरे पनि सरकारले अनुमति नदिँदा ठूलो समुदायमा उपस्थित भएर हुने सिनेमाको निर्वाध छायांकन हुन सकेको छैन ।

बोर्डले आफ्ना माग र सिनेमा हल सञ्चालन तथा छायांकनका लागि अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्डका योजनासहित सञ्चार मन्त्रालयमा प्रस्ताव पठाइसकेको छ । “हामीले पठाएको प्रस्ताव मन्त्रालयले पनि रोकेको छैन । मन्त्रालयले कोभिड-१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाइसकेको छ,” अध्यक्ष दाहाल भन्छन्, “अब सीसीएमसीले हाम्रो प्रस्तावमा छलफल गरेर मन्त्रिपरिषद् बैठकमा पठाउनुपर्नेछ ।”

उक्त प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको अवस्थामा मात्रै सिनेमा क्षेत्रले सञ्चालनको अनुमति पाउँछ । मन्त्रिपरिषद्को केही दिनअगाडि बसेको बैठकले पर्यटन क्षेत्र खुला गर्ने निर्णय गरेको थियो । जसअन्तर्गत केवलकारलगायत पर्यटकीय गतिविधि हुने स्थान खुला भएका थिए । कोभिड-१९ को त्रासका कारण बन्द गरिएका लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन, होटेल, हवाई सेवा, केवलकारसमेत सञ्चालनमा आइसकेको अवस्थामा सिनेमा क्षेत्रलाई भने नजरअन्दाज गरेको भन्दै चलचित्रकर्मीहरु सरकारसँग रुष्ट छन् ।

बोर्डले मन्त्रालयमा बुझाएको प्रस्तामा कम्तिमा ५० प्रतिशतभन्दा माथि अकुपेन्सीमा सिनेमा हल सञ्चालन गर्न पाउनुपर्ने, निर्माता संघले नयाँ सिनेमा रिलिज गर्दा लगानीको २० प्रतिशत रकम निर्मातालाई सरकारले दिनुपर्नेलगायत माग उल्लेख छन् ।

“३३ प्रतिशत अकुपेन्सीमा सिनेमा चलाएर हल सञ्चालनको खर्च पनि उठ्दैन, त्यसैले ३३ प्रतिशतमा कसले पो हल सञ्चालनमा ल्याउन सक्छ र ?” अध्यक्ष दाहाल भन्छन्, “बाटोमा एउटै कारमा चढेर आउने, एउटै घरका एउटै परिवारको मान्छे हलमा आउँदा उनीहरुबीच दूरी कायम गर्नु पर्दैन भनेका छौं ।”

उनले चलचित्र क्षेत्रलाई चलायमान बनाउन चलचित्रकर्मीहरुले अघि सारेका सबै माग पूरा गर्न बोर्डले मन्त्रालयसमक्ष पेस गरेको जानकारी दिए । केही दिनअगाडि बोर्डमा पुगेर सञ्चारमन्त्री पार्वत गुरुङले जनाएको प्रतिबद्धता पूरा गरे मात्रै पनि चलचित्र क्षेत्र तत्कालाई चलायमान हुने दाहाल बताउँछन् । आठ महिनाभन्दा लामो समयदेपखि चलचित्र क्षेत्र ठप्प हुँदा कलाकारल, हल सञ्चालक, निर्माता तथा हजारौं संख्यामा रहेका प्राविधिकहरु मारमा परेका छन् ।

- Advertisement -spot_img

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खर