म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ४ मा हतियार र कालिजसहित पाँच सिकारी पक्राउ परेका छन् । थामडाँडाको अर्जे खोलाको जङ्गलमा वन्यजन्तु चोरी-सिकारी गर्ने उनीहरुलाई भरुवा बन्दुक र कालिजसहित आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बेनी नगरपालिका ४, थामडाँडाका ४९ वर्षीय पूर्ण गुरुङ, २० वर्षीय सन्दीप गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, ३६ वर्षीय सकबहादुर गुरुङ र २१ वर्षीय सञ्जय गुरुङलाई पक्राउ गरिएको जानकारी दिए ।
रातको समयमा जङ्गलमै पक्राउ परेकाहरुको साथबाट कालिज र एक थान एकनाले भरुवा बन्दुकसमेत बरामद गरिएको प्रहरी निरीक्षक चौधरीले बताए । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनीहरुविरुद्ध वन्यजन्तुको अवैध चोरी-सिकारी र अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउने प्रहरीले जनाएको छ । वन्यजन्तुको चोरी-सिकारी हुने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले विशेष टोली परिचालन गरेको थियो । -रासस